छठ घाटमा जातीय विभेद : ‘कथित ठूला जात र साना जातलाई छुट्टाछुट्टै मण्डप’ !

diyopost.com
Diyo post  बिहिबार, कार्तिक २९, २०७५ | १४:३७:३६

  सृजना सुवेदी

बुधबारको उदाउँदो सूर्यलाई अर्घ दिएपछि यसपालिको लागि छठको रमझम सकिएको छ । तर छठ घाटको उज्यालोमा पनि छायाँ परेर बसेका एउटा मण्डपका मानिसहरुको अनुहारको विवशता भने मेरो आँखामा अझै नाचिरहेकै छ ।

केही वर्षपहिला तराई मधेशमा मात्र विशेष रुपमा मनाइने छठ पर्व आजभोलि नेपालका अन्य भेगमा पनि भव्य रुपमा मनाइन थालिएको छ । हरेक जात, क्षेत्र, वर्ग, तथा लिङ्गका मानिसहरुले छठ पर्व कडा उपवाससहित मनाउने गर्छन् । यसबाट सुख, स्वास्थ्य, संवृद्धि तथा सन्तान प्राप्ति हुने जनविश्वास पनि रहेको छ ।

छठको पूजा गर्दा मधेशी समुदायमा कथित तल्लो जाति भनेर हेपिँदै आएका डोम जातिले बनाएका बाँसका सामग्रीहरु तथा कुमाल जातिले कलाले निर्माण गरेको माटाका भाँडाहरुलाई चोखो मानेर प्रयोग गरिन्छ । सबै जात, वर्गका मानिस एउटै पोखरीमा गएर छठ मनाउँछन् । त्यसैले यो चाडलाई समावेशी चाडको रुपमा मान्ने चलन छ ।

यसले पछिल्लो समय सबै समुदाय र क्षेत्रलाई समेटेर नेपालका मधेशी जनता र पहाडी जनताको बीचमा भइरहेको मनमुटावलाई पनि कम गर्दै लगेको मान्नेहरु पनि समाजमा थुप्रै छन् । तर छठ घाटमै गएर हेर्दा त्यहाँ भने समाजमा भएको जातीय विभेदको प्रष्ट नमुना त्यहाँ देख्न सकिन्छ ।

विशेषगरि तराईका हरेक गाउँगाउँमा भएका नदी पोखरी आदि जलाशयमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिनका लागि छठ घाटको सरसफाइ र श्रृङ्गार गरेर चिटिक्क पारिएको हुन्छ । पूजा गर्न र सामग्री राख्न मण्डप चोखो पारिएको हुन्छ ।
धेरै मानिस आउने ठूलाठूला नदिनालामा धेरै मण्डप बनाइन्छ तर थोरै मानिस बस्न पुग्ने गाउँको लागि भने कम्तिमा २ मण्डपको निर्माण गरिन्छ । एउटै मण्डपमा अटाउने जति मान्छे भए पनि प्रायजसो सबै ठाउँमा दुईटा मण्डप बनाइन्छ । एउटा कथित उच्च जातिका मानिसका लागि र अर्को तिनै उच्च जातिकाबाट थिचोमिचोमा पर्दै आएका कथित तल्ला जातिका लागि ।
समावेशी पर्वको रुपमा मानिने पर्व छठ सबै जातकाले मनाउन हुने, सबैले सूर्यलाई अर्घ दिन मिल्ने । सबैका लागि व्रतविधि र पूजा सामग्री समान तर पनि उनीहरुले पूजा गर्ने स्थान किन फरक भयो त ?
समाजमा भएको जातिव्यवस्था र त्यसको कारणले भइरहेको थिचोमिचो समावेशी पर्व छठ घाटमा पनि लुक्न सकेन । आफूलाई ठूलो देखाउन उनीहरुले सधैँ हेप्दै आएका कथित साना जातिसँग बसेर पूजा गर्ने कुरालाई स्वीकारेनन् । त्यसैले त विभिन्न रङ्ग र झिलिमिली उज्यालोमा सजिएकोे छठ घाटमा पनि सानो मण्डपमा बस्ने मानिस सधैँ नै दमनको भारी बोकेरै रमाउने प्रयासमा लागिरहेका देखिन्छन् । अज्ञानताको कारण दमन भएको पनि चिन्न नसकेका उनीहरु पक्कै पनि आफू सबैसँग बसेर पूजा गर्न नपाएकामा आफ्नै गल्ति सम्झन्छन् ।

डोमले बनाएका बाँसका सामग्री र कुमालले बनाएका माटाका भाँडालाई चोखो भनेर त्यसमै पूजा सामग्री राखी पूजा गरिरहँदा मेरो गाउँमा बस्दै आएका मुसहर जातिहरु सधैँ छुट्टै मण्डपमा बसेर पूजा गरिरहन विवस छन् । मैले थाहा पाएदेखि आजसम्मको सबै छठमा त्यस कार्यले निरन्तरता पाइरहेको छ । आफू मुसहर जातको हुनुपरेकोमा अपराधी भएको स्वीकार गर्दै सबैलाई समान नजरले हेर्ने छठी माताको पूजा पूर्ण आस्थाका साथ गरिरहन्छन् । साना पोखरी र पानी सुकेको पैनीमा पानी जमाएर पहिला ठूला जाति भनिनेहरुले अर्घ दिएपछि बल्ल आफ्नो पालो आउँछ भन्दै कुरिरहन्छन् ।

सूर्य सबैलाई सँगै उदाउँछ । छठ पूजाको लागि सबैलाई एउटै सामग्री र पूजा विधि प्रयोग हुने भयो तर सधैँजस्तो यसपालि पनि उनीहरुले गाउँमा सँगै घर भएका मानिससँगै बसेर एकै ठाउँमा पूजा गर्न पाएनन् । साँघुरो पैनीमा ठूला जातिले अर्घ दिएर ठाउँ खाली गरिदिने पालो सधैँजस्तै यसपालि पनि कुर्नु पर्यो ।
छठलाई समावेशी भनिरहँदा त्यहाँ भइरहेको विभेदकारी व्यवहारलाई टुलुटुलु हेरेर बस्ने की रुपान्तरण गर्ने ?

यो विभेद कुनै धर्मका देउताले बनाएकी हामी मानिसले नै बनायौँ ?

सूर्य पहिला आफू ठूला जाति भन्दै घमण्ड गर्नेको लागि उदाउनुपर्ने होइन र ? किन सूर्य समानढंगबाट उदाउँछ ? छठी माताका लागि किन उनीहरुले बनाएको पूजा सामग्री स्वीकार्य भयो ?

समाजमा रहेको जाति व्यवस्थाले छठलाई समावेशी हुनबाट अड्को थापेर रोकिरहेको कुरा हामीबीच कसैमा पनि लुकेको छैन । छठ समावेशी भन्दै गर्व गर्ने हामी समाजलाई पनि समावेशी बनाउनेतिर लागे कति राम्रो हुन्थ्यो होला । अर्को वर्ष हरेक पोखरी र पैनीमा एउटैमात्र मण्डप बने कति रमाउने थियो होला सधैँ एक्लिएर पूजा गर्दै आएका मानिसको मन । कुमालले बनाएको दियो र डोमका बाँसका सामग्रीहरु चलाएको कुराले मात्रै गर्व गर्ने कि उनीहरुमाथि भइरहेक विभेदका विरुद्ध आवाज बुलन्द गर्ने ?

 

सम्बन्धित खबर