काठमाडौँ । बहुविवाहको आरोपमा प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालतबाट अनुमति लिई नेपाललाई पक्राउ गरेको हो ।
डीएसपी नेपालकी पहिलो श्रीमतीले दिएको उजुरीका आधारमा पक्राउ प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। उनका अनुसार बहुविवाहसम्बन्धी मुद्दा दर्ता भएपछि नेपाल स्वयं प्रहरी कार्यालय पुगेका थिए।
‘बहुविवाहको उजुरी परेपछि उहाँ हिजो साँझ आफैँ उपस्थित हुनुभएको थियो। त्यसपछि अदालतबाट म्याद थप गरी उहाँलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ,’ एसपी क्षेत्रीले बताए।
नेपालमाथि ३ दिनको म्याद थप गरिएको र आरोपसँग सम्बन्धित थप प्रमाण संकलन कार्य भइरहेको प्रहरीले जनाएको छ। यसैबीच, नेपालकी भनिएका दोस्रो श्रीमतीको खोजी कार्य पनि अघि बढाइएको जानकारी दिइएको छ।
प्रहरी निरीक्षक रहँदा डीएसपी नेपाल बुटवलस्थित वडा प्रहरी कार्यालयमा इन्चार्ज थिए। उनी गाँजाको कारोबारसँग सम्बन्धित आर्थिक लेनदेनमा संलग्न रहेको भन्दै यसअघि विभागीय कारबाहीमा समेत परेका थिए।
उनी यसअघि जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत थिए।