काठमाडौं । वन्यजन्तु अखेटोपहरा तस्करीमा समलग्न भएको आरोपमा चर्चित ज्योतिष रुद्रनाथ अधिकारी पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी टोलीले उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो । उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेपछि पक्राउ गरेको हो ।
पक्राउपछि उनलाई डिभिजन वन कार्यालय काठमाडौं पेश गरिएको छ ।
डिभिजन वन कार्यालय काठमाडौंको अनुरोधपछि उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले गत २७ कात्तिकमै पक्राउ पुर्जी जारी गरेको थियो । तर, उनी फरार रहँदै आएका थिए ।
प्रहरीले गत २१ कात्तिकमा ठमेलस्थित पद्मा संग्रौलाले सञ्चालन गरेको होटल ‘हेल्लो हाउस’बाट दुर्लभ वन्यजन्तुको अखेटोपहरा बरामद गरेको थियो । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले संग्रोलालाई त्यही दिन पक्राउ गरेको थियो ।
उनी अहिले प्रहरी हिरासतमा छन् । फसाउने नियतले अखेटोपहरा होटलमा ल्याएर राखेको बयान पक्राउ संग्रौलाले दिएपछि अधिकारीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
पक्राउ पुर्जी जारी भएलगत्तै वनले पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) लगायतका प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो ।
पक्राउ परेका उनले विभिन्न टेलिभिजन तथा युट्यूबमार्फत सर्वसाधरणको कर्म र भाग्य सम्बन्धमा भाविश्यवाणी गर्दै आएका छन् ।