काठमाडौं । झापाको दमकस्थित चारआलीमा रहेको ग्लोबल आइएमई बैंकका शाखा प्रमुख पिताम्बर खड्काको मृत्यु प्रकरणमा आर्थिक चलखेल भएको पाइएको छ ।
बैंकका सीईओ सुरेन्द्र रेग्मीसहितका उच्च अधिकारीहरुको तस्विरसहित उनीहरुले आफ्नो हत्या गरेको दाबीसहित सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको १० मिनेटमै मृत्यु रोजेका खड्काको परिवारलाई बैंककै उच्च अधिकारीहरुले आर्थिक प्रभावमा पार्ने कोशिस गरेका हुन् । मृतक परिवारलाई बैंकका प्रमुख कार्यकारी अधिकृतसहित उच्च अधिकारीलाई प्रतिवादी नबनाउन र मुद्दामा बयान फेर्नुपर्ने भन्दै खड्काले लिएको होम लोन मिनाह गर्ने, थप एक करोड रुपैयाँ दिने र मृतककी श्रीमतीलाई शाखा प्रमुख सरह तलब भत्ता दिने गरि जागिरमा नियुक्ती गर्ने प्रस्ताव बैंकले गरेको छ ।
बैंकले गरेको प्रस्तावमा मृतक परिवारभित्र भने एकमत छैन । जाहेरकर्ता रहेका मृतकका बाबु र आमाले कुनै पनि आर्थिक प्रस्तावमा सहमत हुन नसक्ने बताउँदै आएका छन् । यद्धपी बैंकका उच्च अधिकारीहरु भने पैसा दिने सर्तमा मिलापत्र गराउने सहमति भएको बताउँछन् । तर, मुलुकी अपराध संहिता २०७४ मा आत्महत्या दुरुत्साहन मुद्दामा मिलापत्र गर्न मिल्दैन ।
मृतक परिवारले बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, उपमहाप्रबन्धक दिपचन्द्र रेग्मी र मानव संशाधन विभाग प्रमुख अनामिका कुँवर सिंह विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा किटानी जाहेरी दिएका छन् ।
जाहेरी दरखास्तका अनुसार मृतक पिताम्बर खड्का विगत केही वर्षदेखि ग्लोबल आइएमई बैंकमा कार्यरत हुनुहुन्थ्यो। इलाम शाखा र चारआली शाखामा सफल कार्यकाल पूरा गरेपछि उनलाई विभिन्न बाहानामा मानसिक तनाव दिन सुरु गरिएको थियो ।
सीईओ रेग्मीसहितका अभियुक्तहरुले विना कारण झुटा जालझेलमा पारी, विकट जिल्लामा सरुवा गरिदिने धम्की दिँदै तत्काल राजीनामा दिन बारम्बार दबाब र मानसिक यातना दिएको जाहेरीमा उल्लेख छ । सोही असह्य मानसिक तनावका कारण मृतकले ३ महिना अगाडि नै बैंकको केन्द्रीय कार्यालयमा राजीनामा पेश गरेका थिए।
बुझाइएको राजीनामा तत्काल स्वीकृत नगरी उहाँलाई चारआली शाखाबाट विराटनगर शाखामा १ तह बढुवा गरी ’सिनियर अधिकृत’ का रूपमा सरुवा गरिएको थियो । तर, विराटनगर प्रदेश कार्यालयमा हाजिर हुँदा ३ महिनासम्म कुनै जिम्मेवारी नदिई मानसिक रूपमा थप प्रताडित (पेन्डिङमा) पारिएको आरोप छ ।
गत मिति २०८३।०२।०४ गते बैंक बिदा भएको दिन, पिताम्बर घरमै रहेको अवस्थामा, ईमेल मार्फत ३ महिना अघि दिएको राजीनामा अचानक स्वीकृत भएको जानकारी आए लगत्तै उनले स्ट्याटस लेखेर बैंकका उच्च अधिकारीले आफ्नो हत्या गरेको भन्दै तस्विरसहित स्ट्याटस लेखेर आत्महत्याको बाटो रोजेका थिए ।
फेसबुक स्टाटस र आत्महत्या
राजीनामा स्वीकृत भएको जानकारी पाएपछि मानसिक र व्यावहारिक पीडा सहन नसकी पिताम्बरले सोही दिन दिउँसो १३ः०० बजे आफ्नो फेसबुक अकाउन्टमा विपक्षी ४ जना अधिकारीहरू (सुरेन्द्र रेग्मी, सुमन पोखरेल, दिप चन्द्र रेग्मी र अनामिका कुँवर सिंह) को फोटो राख्दै “यी ४ जनाले मलाई मर्न बाध्य बनाएको“ भनी स्टाटस पोस्ट गरेका थिए।
त्यसको केही समयपछि, साँझ करिब १७ः१५ बजे, दमक–८ स्थित आफ्नै घरको दोस्रो तलाको स्टोर कोठामा प्लाष्टिकको डोरीको पासो लगाई उनले आत्महत्या गरेको अवस्थामा फेला पारिएको जाहेरीमा खुलाइएको छ ।
स्रोतका अनुसार प्रहरीलाई अनुसन्धानमा समेत दबाव दिने कार्यमा आईएमई समुहका अध्यक्ष चन्द्र ढकालले समेत चर्को दबाव दिएका छन् । उनकै चर्को दबावका कारण अभियुक्तहरु विरुद्ध पक्राउ पुर्जी निकाल्न समेत प्रहरी हच्किएको छ ।