४ सय ५० करोड ऋण ‘अपचलन’ मा रामेश्वर थापालाई उन्मुक्ति: प्रभु बैंकको सूचनामा समेत सेटिङ !

दियोपोस्ट संवाददाता  

काठमाडौँ । अर्बौँ रुपैयाँ ऋण अपचलनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को छानबिनमा रहेका प्रभु बैंकका उच्च अधिकारीहरूले ३५ दिने सूचना प्रकाशनमा समेत सेटिङ र कीर्ते गर्ने गरेको पाइएको छ। ऋण अपचलन गर्ने शक्तिशालीहरूको नाम पत्रिकामा प्रकाशित ३५ दिने सूचनाबाटै गायब पारिएको पाइएको हो।

हाल सीआईबीले अनुसन्धान गरी करिब टुङ्गोमा समेत पुर्‍याइसकेको गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यसँगै करिब ४ सय ५० करोड ऋण अपचलनमा एक शक्तिशाली मिडिया माफियालाई भने उन्मुक्ति दिइएको पाइएको छ। उनले बैंकबाट अर्बौँ ऋण अपचलन गरे पनि उनको नामसमेत हटाएर बैंकले सूचना निकालेको र सेटिङमा उन्मुक्ति दिइएको पाइएको हो।

अन्नपूर्ण ब्रोडकास्ट मिडियाको नाममा अपचलन भएको ऋण प्रकरणका मुख्य व्यक्ति रामेश्वर थापाको नाम शङ्कास्पद र अस्वाभाविक रूपमा ३५ दिने सूचनाबाटै गायब पारिएको छ।

नेपालको हवाई क्षेत्रमा पुनर्वित्तीयकरण (रिफाइनान्सिङ), व्यवसाय पुनर्संरचना, ऋण स्थानान्तरण र ब्रान्ड पुनर्जीवनका नाममा भएको यो ऋण अपचलनमा सीआईबीले मुद्दा चलाउने अन्तिम टुङ्गो लगाइरहँदा प्रभु बैंकका हालका सीईओ सुमन शर्मा र प्रमुख व्यापार अधिकृत रमेश श्रेष्ठले थापालाई जोगाएको तथ्यहरूले देखाउँछन्।

अन्नपूर्ण ब्रोडकास्ट मिडियाका अध्यक्ष रामेश्वर थापा नै थिए। प्रभु बैंकसँग ऋण लिने प्रयोजनका लागि थापा अध्यक्ष रहेकै बोर्ड बैठकले पटक-पटक निर्णय गरेको कागजातमा देखिन्छ।

कास्कीका शिवप्रसाद बास्तोला र गीता श्रेष्ठको नाममा रहेको करिब ३७ रोपनी ७ आना जग्गा थापाले अन्नपूर्ण ब्रोडकास्टिङ प्रालिद्वारा सञ्चालित एपीवान टेलिभिजनको सब-स्टेसन राख्न भन्दै अन्नपूर्ण ब्रोडकास्ट मिडियाको नाममा खरिद गरेका थिए।

थापाकै उपस्थितिमा गत २०७५ असोज १८ गते बुधबार बसेको अन्नपूर्ण ब्रोडकास्ट प्रालिको बैठकले कम्पनीको नाममा जग्गा खरिद गर्ने निर्णय गरेको थियो। जसको अध्यक्षता थापाले गरेका थिए भने सदस्यमा सिम्रिक एयर र प्रश्नरत्न बज्राचार्य देखिन्थे।

“यस अन्नपूर्ण ब्रोडकास्ट मिडिया प्रा.लि.ले आफ्नो व्यवसाय विस्तारको क्रममा आवश्यक पर्ने जग्गा खरिद गर्नका लागि विभिन्न ठाउँमा फिल्ड भिजिट तथा सम्भाव्यता अध्ययन पश्चात् श्रीमती गीता श्रेष्ठ तथा श्री शिवप्रसाद बास्तोलाको नाममा पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३१ मा रहेको कित्ता नम्बर ४६६, ४६७, १२८६, १२८७, १२८९, १४७५, १४७७, १४७८, १७४३, १८७४, २३३३, २३३५, २३३६, २३३७, २८४९, २८५०, २८५१ र २८५२ का जग्गाहरू यस अन्नपूर्ण ब्रोडकास्ट मिडिया प्रा.लि.को नाममा (TELEVISION SUB STATION) बनाउन जम्मा रु. ११,००,००,०००/- (एघार करोड रुपैयाँ) मा खरिद गर्ने निर्णय सर्वसम्मतले पारित गरियो,” बैठकको निर्णयमा भनिएको छ, “यस कम्पनीको तर्फबाट सो कागजातमा हस्ताक्षर गर्न यस कम्पनीका कर्मचारी श्री नीरज श्रेष्ठलाई अख्तियारी दिने निर्णय सर्वसम्मतले पारित गरियो।”

सोही निर्णय अनुसार कास्कीको साविक शिशुवा गाविस वडा नम्बर ५ का जग्गाहरू बास्तोलाले थापा नेतृत्वको अन्नपूर्ण मिडियाको नाममा पास गरिदिएका थिए। तर, ५ करोड २५ लाख रुपैयाँको बैंक भौचर नक्कली दिएको भन्दै थापाविरुद्ध पीडित बास्तोलाले तत्कालीन कास्की जिल्ला प्रहरी कार्यालयमा ठगी, विश्वासघात गरी आपराधिक लाभ लिएको भन्दै जाहेरी दिएका थिए।

जाहेरीमा बास्तोलाले अन्नपूर्ण ब्रोडकास्ट मिडियाका अध्यक्ष रामेश्वर थापा, सञ्चालक प्रश्नरत्न बज्राचार्य, प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मीप्रसाद पौडेल, कर्मचारी नीरज श्रेष्ठ र देव विकास बैंकलाई प्रतिवादी बनाएका थिए। प्रहरीले त्यतिबेला जाहेरी दर्ता नगरेपछि सरकारी वकिल कार्यालयले दर्ता गरी पक्राउ अनुमतिसमेत लिएको थियो। त्यतिबेला अमेरिका रहेका थापा उतैबाट यो मुद्दा सेटल भएपछि मात्रै नेपाल आएका थिए। यही जग्गामा अहिले एपीवान टेलिभिजनको स्टेसन बन्नु त कता हो कता, बन्दै नबनेको होटलको नाममा प्रभु बैंकको २२ करोड रुपैयाँभन्दा बढी अपचलन भएको स्रोतले बताएको छ।

११ करोडमा किनिएको जग्गालाई हाल सीआईबीको छानबिनमा रहेका प्रभु बैंकका तत्कालीन सीईओ अशोक शेरचनसहितका उच्च अधिकारीले अन्नपूर्ण ब्रोडकास्ट मिडियाको नाममा २२ करोडभन्दा बढी ऋण प्रवाह गरेका थिए। सो ऋणसमेत नतिरेपछि सोही जग्गा अहिले ३५ दिने सूचनामा निस्किएको छ। यसअघि अन्नपूर्ण ब्रोडकास्ट मिडियाको सब-स्टेसन बनाउन भन्दै प्रभु बैंकबाट ऋण निकालिएको सोही जग्गाहरूमा अहिले होटल तालको स्वामित्व देखिएको छ।

“होटलको पनि नाम मात्रै हो। त्यहाँ न होटल बन्यो, न टेलिभिजनको सब-स्टेसन बन्यो। यो विशुद्ध ऋण खाने र बैंक डुबाउने प्रपञ्च मात्रै रहेछ,” अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, “रामेश्वर थापा र राजेन्द्र शाक्यहरूले प्रभु बैंकलाई ऋण अपचलनको केन्द्र बनाएका थिए। बाँकी त अभियोगपत्रमा आइहाल्छ।”

प्रभु बैंकका हालका सीईओ शर्मा र प्रमुख व्यापार अधिकृत श्रेष्ठले गत वैशाख २९ गते नागरिक दैनिकमा ३५ दिने ऋण तिर्ने सम्बन्धी सूचना प्रकाशन गराएका छन्। तर, यो सूचना प्रभु बैंकको वेबसाइटबाट गायब छ। अन्यको सानो सूचना पनि वेबसाइटमा राख्ने बैंकले शक्तिशाली थापाहरूलाई उन्मुक्ति दिन ३५ दिने सूचना वेबसाइटमा राख्ने आँटसमेत गरेको छैन।

२०७५ असोजमा अन्नपूर्ण ब्रोडकास्ट मिडियाको नाममा ऋण लिने निर्णय भएको एक वर्षपछि अर्थात् २०७६ फागुन १ गते दर्ता भएको कम्पनीको नाममा यसरी करोडौँ रकम प्रवाह भएको छ। त्यतिबेला तत्कालीन प्रहरी प्रमुख सर्वेन्द्र खनालको सचिवालयमा कार्यरत रमेश थापाको जोडबलमा जग्गाधनी पीडित शिव बास्तोलालाई नै २४ घण्टा पक्राउ गराएर दबाबमा पारिएको थियो। थापा अहिले काठमाडौँ प्रहरी प्रमुख (एसएसपी) छन्।

त्यस्तै गरी अन्नपूर्ण ब्रोडकास्ट मिडियाका मालिक रामेश्वर थापाले सञ्चालन गरेको सिम्रिक एयरसमेत प्रभु बैंकको ३५ दिने ऋण तिर्ने सूचनामा भने गुण एयरलाइन्स भइसकेको देखिन्छ। ‘श्री सिम्रिक एयरलाइन्स प्रा.लि. हाल गुण एयरलाइन्स प्रा.लि.को नाममा तपसिलमा दर्ता भए बमोजिमका एयरलाइन्सहरूको धनी प्रभु बैंक लि.को नाममा रहेको थान (२)’ भनी उल्लेख छ। सिम्रिक एयरको वेबसाइटमा यसअघि क्याप्टेन रामेश्वर थापा अध्यक्ष भनी उल्लेख भएको डाटासमेत उडाइएको छ।

“उपलब्ध घटनाक्रम, पुनर्वित्तीयकरण संरचना, स्वामित्व हस्तान्तरण, बैंक वित्तीय प्रवाह र कम्पनी कारोबारहरूले सम्भावित वित्तीय इन्जिनियरिङ भएको आशङ्का उत्पन्न हुन्छ,” एक चार्टर्ड एकाउन्टेन्ट भन्छन्, “सन् २०१३ तिर गुण एयरलाइन्स गम्भीर वित्तीय सङ्कटमा पुग्छ। कम्पनीले बैंक ऋण तिर्न कठिनाइ भोगिरहेको अवस्था देखिन्छ र सञ्चालन नै सङ्कटमा पर्छ। त्यसपछि सिम्रिक एयरले गुण एयरलाइन्सको १०० प्रतिशत इक्विटी अधिग्रहण गर्छ। उक्त खरिदका लागि करिब १०० करोड रुपैयाँ बराबरको ऋण व्यवस्थापन गरिएको देखिन्छ। जसमा सुरुमा नेपाल इन्भेष्टमेन्ट बैंक र पछि प्रभु बैंकको भूमिका देखिएको छ। बाहिरबाट हेर्दा यो सङ्कटग्रस्त हवाई कम्पनीलाई बचाउने पुनर्संरचना जस्तो देखिन्छ, तर पछि ऋणको वास्तविक प्रयोगमाथि गम्भीर प्रश्न उठेको छ।”

उनको दाबी अनुसार उक्त ऋण रकम हवाई सेवा विस्तार, नयाँ विमान खरिद वा सञ्चालन आधुनीकीकरणमा प्रयोग हुँदैन। बरु पुनर्वित्तीयकरणको शृङ्खला मिलाउने, समूहगत दायित्व समायोजन गर्ने र पुराना ऋण तथा हिसाब मिलाउने काममा रकम प्रयोग भइरहेको देखिन्छ। यो क्रममा हाल फरार रहेका देवी भट्टचन, पक्राउ परी छुटेका राजेन्द्र शाक्य र थापाबिच पुरानो वित्तीय समायोजनमा समेत यो रकम दुरुपयोग भएको देखिन्छ।

प्रभु बैंकले धितोको मूल्य कृत्रिम रूपमा बढाएर ऋण प्रवाह गरेको देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन सीईओ शेरचन र गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यलाई पक्राउ गरेको थाहा भएको छ। उनीहरू अदालतको विशेष आदेश लिएर छुटेका छन्। तर, अनुसन्धान रोकिएको छैन।

“अनुमानित आम्दानी कागजमा मात्र बलियो बनाइन्छ र किस्ता तथा ब्याज तिर्न सक्ने क्षमता देखाउन कृत्रिम वित्तीय प्रक्षेपण तयार गरिन्छ। यस्तो अवस्थामा बैंकको ऋण निर्णय वास्तविक व्यावसायिक अवस्थाभन्दा कागजी संरचनामा आधारित भएको देखिन्छ। यसले नेपाल राष्ट्र बैंकको जोखिम मूल्याङ्कन प्रणाली, परियोजना वित्तीय अनुशासन र बैंकिङ निगरानीमाथि प्रश्न उठाएको छ,” सीआईबी स्रोत भन्छ, “यदि कुनै परियोजनाका लागि स्वीकृत ऋण अन्य प्रयोजनमा प्रयोग हुन्छ भने त्यो ऋण दुरुपयोग हो।”

कम्पनी वित्तीय रूपमा असफल भएपछि यस्तो कम्पनी खरिदका लागि प्रभु बैंकबाट ऋण अपचलन गरिएको भन्दै तत्कालीन प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले काठमाडौँ प्रहरीमा जाहेरीसमेत दिएकी थिइन्।

माथि अन्नपूर्ण नेटवर्कको लेटरहेड तल अन्नपूर्ण ब्रोडकास्ट मिडिया प्रा.ली लेखिएको तर, सम्पूर्ण मिडियाको स्वामित्व रहेका झल्किने कागजात

उनका अनुसार गुण समूहको नाममा रहेको गुण सिनेमाको नाममा दिइएको ७६ करोड ६६ लाख रुपैयाँ र सुगत इन्भेष्टमेन्टको नाममा १ अर्ब ५० करोड ऋण लगानीमा साँवा र ब्याजसमेत आएको थिएन। तर, यस्तो हुँदाहुँदै पनि प्रभुले अन्नपूर्ण ब्रोडकास्ट मिडियाका तत्कालीन अध्यक्ष रामेश्वर थापाले पार्टनरको रूपमा भित्र्याएपछि अस्वाभाविक रूपमा ऋण लगानी गरेको थियो। बैंकले अहिले ३५ दिने सूचनामा सौगात इन्भेष्टमेन्टको नाम पनि निकालेको छ।

सीआईबी स्रोतका अनुसार कम्पनी वित्तीय रूपमा असफल देखिएपछि अधिग्रहण र स्वामित्व हस्तान्तरणको नाटकीय खेल सुरु भएको थियो।

“यस क्रममा पुनर्वित्तीयकरणमार्फत पुराना ऋण समायोजन, दायित्व फेरबदल र पुराना वित्तीय दायित्वलाई नयाँ संरचनाभित्र समेट्ने प्रक्रिया देखिन्छ। यसलाई सम्भावित छलपूर्ण हस्तान्तरण वा संरचित दायित्व व्यवस्थापनको दृष्टिले पनि हेर्न सकिन्छ,” उनले भने, “यस घटनासँग सम्पत्ति शुद्धीकरण सम्बन्धी आशङ्का पनि जोडिन्छ। पहिलो चरणमा ठुलो बैंक ऋणमार्फत रकम प्रणालीमा प्रवेश गराइन्छ भन्ने देखिन्छ। दोस्रो चरणमा पुनर्वित्तीयकरण, स्वामित्व हस्तान्तरण, सम्बन्धित पक्षबिचको कारोबार, ब्रान्ड पुनर्संरचना तथा कम्पनीहरूबिचको रकम प्रवाहमार्फत रकमको स्रोत जटिल बनाइन्छ। अन्तिम चरणमा पुराना दायित्वलाई नयाँ संरचनाभित्र समेटेर रकमलाई वैध व्यावसायिक कारोबार जस्तो देखाइन्छ। यदि एउटै समूहभित्र बारम्बार रकम घुमाइन्छ, लाभग्राही अस्पष्ट हुन्छ, धितो मूल्य कृत्रिम रूपमा बढाइन्छ र गोलचक्कर शैलीमा वित्तीय प्रवाह हुन्छ भने सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत अनुसन्धानको आधार बन्न सक्छ।”

विवादमा रामेश्वर थापा : साढे २ करोडको ‘डिल’ नमिलेपछि जब अन्नपूर्ण पोस्टमा विज्ञप्ति छापियो (अडियोसहित)

अन्नपूर्ण मिडियाका मालिकको ‘ठगीधन्दा’ : नक्कली भौचर देखाएर करोडौँको जग्गा ‘कब्जा’ !

अन्नपूर्ण पोष्टका मालिक रामेश्वर थापा विरुद्ध कास्की प्रहरीमा ठगीको जाहेरी दर्ता ! (जाहेरीसहित)

‘किर्ते भौचरकाण्डमा अन्नपूर्णका मालिक’ रामेश्वर थापालाई छलफल गराउन राष्ट्र बैंकको निर्देशन !

सिफारिस