काठमाडौं, २१ जेठ । नेपालीमा एउटा उखान छ,‘आफ्नै हात जगन्नाथ’ । यो उखान चर्चित मिडिया मालिक रामेश्वर थापाको ‘धन्दा’मा लागु हुन्छ ।
आफै नक्कली भौचर देखाएर जग्गा किन्ने । पीडितले बाँकी रकम माग्दा प्रधानमन्त्री ओलीकै नाम दुरुपयोग गर्दै धम्काउने । आफू ठगिएको थाहा पाएका पीडितले दियोपोस्ट लगायत सञ्चार माध्यममा पीडा पोखेपछि घटना थाहा पाए जस्तो गर्ने ।
पीडितले राष्ट्र बैंक लगायतका निकायमा उजुरी गरेपछि पैसा तिर्न बार्गेनिङ गर्ने । साँढे २ करोड किस्ताबन्दीमा लिनुस् भनेर प्रस्ताव पनि गर्ने । तर पीडितले आफूले पाउनुपर्ने सबै रकम मागेपछि त्यसको भोलीपल्ट आफैद्वारा सञ्चालित अन्नपूर्ण पोष्टको पहिलो पृष्ठमा विज्ञप्ति जारी गर्ने । यो वास्तविक घटना मात्रै होइन सञ्चार उद्यमी रामेश्वर थापाको परिचय नै यही हो ।
अन्नपूर्ण मिडिया ब्रोडकास्टिङ मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले किर्ते भौचर दिएर पोखराका शिव प्रसाद वास्तोलाको जग्गा हत्याएका समाचार दियोपोस्ट डटकमले यसअघि नै सार्वजनिक गरिसकेको छ ।
२० करोड मुल्य पर्ने पोखरा वेगनाश ताल किनारको ३७ रोपनी जग्गा एपीवान टेलिभिजनको सव स्टेशन राख्नका लागि भन्दै थापाले वास्तोलालाई ५ करोड २५ लाखको देव विकास बैंकको नक्कली भौचर देखाएर हत्याएका थिए । सोही काण्ड मिलाउन थापाले आफ्नो प्रतिनिधिलाई ‘डिल गर्न लगाएको र डिल नमिले पछि आफ्नै मिडियाको दुरुपयोग गरेको खुलाशा भएको हो ।
मंगलबार प्रकाशित थापाकै स्वामित्व र लगानी रहेको अन्नपूर्ण पोस्टको पहिलो पृष्टमा एउटा लामो विज्ञप्ति छापिएको छ । यता सोही विज्ञप्ती नागरिक दैनिकको दोस्रो पृष्ठमा पनि छापिएको छ ।
‘यस अन्नपूर्ण ब्रोडकाष्ट मिडिया प्रा.लिले कास्की जिल्ला सिसुवा वडा नं. ५ स्थित शिव बास्तोला र निजकी पत्नी गीता श्रेष्ठको नाममा रहेका १७ कित्तका करिब ३७ रोपनी जग्गा मिति २०७५/०७/१८ र २५ गते निजहरुका राजीखुशीमा कास्की मालपोत कार्यालयबाट खरिद गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा थापाले राजीखुसीमै जग्गा आफूहरुलाई दिएको दाबीे छ । तर, हाल आएर वास्तोलाले विभिन्न झूठो उजुरी दिई अध्यक्ष थापा र अन्नपूर्ण मिडियाका जिम्मेवार पदाधिकारीको इज्जत प्रतिष्ठामा आघात पुर्याई चरित्रहत्या गरेको आरोप लगाइएको छ ।
त्यतिमात्रै होइन यस सम्बन्धी समाचार प्रकाशन गर्ने मिडियालाई समाचार प्रकाशन नगर्न र समाचार प्रकाशन गरेर चरित्र हत्या गरे कानुनी उपचार गर्ने धम्की समेत दिइएको छ ।
‘आफै कसैलाई नक्कली भौचर दिएर जग्गा कब्जा हत्याउने । आफ्नै मिडियाबाट विज्ञप्ति जारी गरेर धम्की दिने काम मिडियाको आवरणमा गुण्डागर्दी हो,’ आमसञ्चार क्षेत्रका एक विज्ञ भन्छन्,‘नेपाली पत्रकारितालाई यसरी दुरुपयोग गर्नु अपराध हो ।’
यसअघि थापाले नक्कली भौचर देखाएर जग्गा कब्जा गरेको भन्दै पीडित शिव प्रसाद वास्तोलाले राष्ट्र बैंकमा समेत जाहेरी दिएका थिए । अन्नपूर्ण ब्रोडकाष्ट मिडियाका मालिक थापाले शक्तिको दुरुपयोग गर्दै मुद्दा किनारा लगाउन कोशिस गरेका थिए ।
२ करोडको डिल नमिलेपछि पत्रिकामा विज्ञप्ती !
पीडित वास्तोलाले विभिन्न ठाउँमा उजुरी गरेपछि कारबाही पर्ने डरले थापाका तर्फबाट डाइरेक्टर लक्ष्मि प्रसाद पौड्यालले डिल गरेका थिए ।
वास्तोला र पौड्यालबीच गत विहिबार भएको डिलको अडियो रेकर्ड दियोपोस्टलाई प्राप्त भएको छ ।
‘मैले धेरै कोशिस गरेपछि त्यतिसम्म पुर्याएको छु । तपाईंलाई मान्य हुन्छ भने आउनुस् । तपाईंले मुद्दा हालेर कहाँ पुग्नुहुन्छ ?,’ पौड्यालले धम्कीपूर्ण भाषामा भनेका छन्,‘मैले तपाईंलाई भनेको छु । रेन्जमा आउनुस् एउटा कागज गरेर टुङ्ग्याइदिउँ सधैका लागि ।’
पीडित वास्तोलाले पौड्याललाई कतिसमय भित्र मैले पैसा पाउँछु भन्दै प्रश्न गरेका छन् । जवाफमा पौडेलले भनेका छन्,‘एक लट तुरुन्तै पाउनुहुन्छ । अहिले कति सकिन्छ दिन्छौँ । अर्को पछिल्लो चोटी दिन्छौँ । मैले धाई सम्म गर्न सक्छु । त्योभन्दा बढी म सक्दिनँ । ५० देखि एक करोड त भइहाल्छ । अर्को चाहिँ एक एक महिनाको डिस्टेन्समा हुन्छ ।’
यसरी कुराकानी भएपछि पीडित वास्तोलाले आफूले आफ्नो साहुसँग कुरा गरेर खबर गर्ने बताएका थिए ।
सोमबार पौड्यालले पुन वास्तोलालाई फोन गरेका थिए । सोमबार करिब ३ बजेतिर उनीहरुबीच भएको संवादमा पीडित वास्तोलाले आफूलाई साँढे २ करोडले नपुग्ने र आफ्ना साहुहरु १० जनाभन्दा बढी रहेकाले सबैलाई चित्त बुझाउन नसक्ने बताएका थिए । तर, पौडेलले अब के गर्ने त भन्दै फोन राखिदिएका थिए ।
‘पैसाको डिल नमिलेपछि पत्रिकामा मेरो चरित्र हत्या गर्ने गरी विज्ञप्ति जारी गरियो,’ पीडित वास्तोला भन्छन्,‘मैले पाउनु पर्ने रकम मागेको हुँ । कसैसँग भिख मागेको होइन । पैसा पनि नदिने मेरो जग्गा पनि खाइदिने उल्टै विज्ञप्ति जारी गर्ने विरुद्ध म अझ दृढ भएर लड्छु ।’
के थियो रामेश्वरको कारोबार तलका लिंक पढ्नुहोस्
अन्नपूर्ण मिडियाका मालिकको ‘ठगीधन्दा’ : नक्कली भौचर देखाएर करोडौँको जग्गा ‘कब्जा’ !