काठमाडौं, २० पुस । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष तथा सिम्रिक एयरका मालिक रामेश्वर थापाले पोखराका एक व्यक्तिलाई नक्कली भौचर देखाएर करिब २० करोड रुपैयाँ बराबरकोे जग्गा आफ्नो नाममा पारेको पाइएको छ ।
बैंक तथा वित्तिय संस्थाको मिलेमतोमा पोखराका शिव प्रसाद बास्तोला र गीता श्रेष्ठको नाममा रहेको करिब ३७ रोपनी ७ आना जग्गा थापाले अन्नपूर्ण ब्रोडकास्टिङ प्रालिद्वारा सञ्चालित एपीवान टेलिभिजनको सब स्टेशन राख्न भन्दै अन्नपूर्ण मिडिया नेटवर्कको नाममा पारेको पाइएको हो ।
गण्डकी प्रदेश कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका स्थायी घर भएका बास्तोलाले बेगनास ताल किनारको उक्त जग्गा अन्नपूर्ण मिडिया नेटवर्कको नाममा रामेश्वर थापाले ठगी गरेको बताएका छन् । उक्त जग्गा पोखराकै एक सहकारीमा दृष्टिबन्धकी राखिएको थियो । थापाकै उपस्थितिमा गत आश्विन १७ गते बुधबार बसेको अन्नपूर्ण ब्रोडकास्टिङ प्रालिको बैठकले कम्पनिको नाममा जग्गा खरिद गर्ने निर्णय गरेको थियो ।
‘यस अन्नपूर्ण ब्रोडकास्ट मिडिया प्रा.लिले आफ्नो व्यावसायी विस्तारको क्रममा आवश्यक पर्ने जग्गा खरिद गर्नका लागि विभिन्न ठाउँमा फिल्ड भिजिट तथा सम्भाव्यता अध्ययन पश्चात श्रीमति गिता श्रेष्ठ तथा श्री शिव प्रसाद बास्तोलाको नाममा पोखारा लेखनाथ महानगरपालिका वडा नं. ३१ मा रहेको कित्ता नम्बर ४६६,४६७, १२८६, १२८७, १२८९, १४७५, १४७७, १४७८, १७४३, १८७४, २३३३, २३३५, २३३६, २३३७, २८४९, २८५०, २८५१ र २८५२ का जग्गाहरु यस अन्नपूर्ण ब्रोडकास्ट मिडिया प्रा.लीको नाममा (TELEVISON SUB STATION) बनाउन जम्मा रु ११ ०००००००) एघार करोड रुपैयाँमा खरिद गर्ने निर्णय सर्वसम्मतले पारित गरियो ,’ बैठकको निर्णयमा भनिएको छ,‘यस कम्पनिको तर्फबाट सो कागजातमा हस्ताक्षेर गर्न यस कम्पनिको कर्मचारी श्री निरज श्रेष्ठलाई अख्तियारी दिने निर्णय सर्वसम्मतले पारित गरियो ।’ बैठकको निर्णय अनुसार नै अख्तियारी पाएका निरज श्रेष्ठ दोस्रो पक्ष र शिव प्रसाद बास्तोला र गीता श्रेष्ठ दोस्रो पक्षबीच गत कार्तिकमा एउटा करार सम्झौता भएको देखिन्छ ।
तर सम्झौतामा भने उक्त जग्गा ११ करोडमा खरिद गर्नेबारे केही उल्लेख गरिएको छैन । जसमा पहिलो पक्ष भनिएका शिव प्रसाद बास्तोला, गिता श्रेष्ठले दोस्रो पक्ष भनिएका अन्नपूर्ण ब्रोडकास्ट मिडिया प्रा.लीका निरज श्रेष्ठबाट ७ करोड ५० लाख रुपैयाँ लिएको र उक्त रकम शिव प्रसाद बास्तोला र गीता श्रेष्ठले दोस्रो पक्षलाई एक वर्ष भित्र फिर्ता गरेपछि उक्त जग्गाहरु प्रथम पक्षको नाममा पास हुने भनेर लेखिएको छ ।
‘जग्गा नै बेच्ने सम्झौता भएको होइन । यो जग्गा बेच्दा त्यतिबेलाको बजार भाउ नै १८ देखि २० करोडको हाराहारीमा थियो,’ बास्तोलाले दियोपोस्टसँग भने,‘जग्गा फुकुवा गर्ने भएपछि त्यति ठूलो मिडिया चलाउने मान्छेसँग अरु पनि कारोबार हुन्छ भनेर दिएँ ।’
सम्झौतामा उल्लेख भए अनुसार लागु हुनेमा बास्तोला आश्वस्त थिए । तर, विभिन्न ठूला कम्पनिसँग सम्झौता गर्दै पालना नगर्ने र सम्पत्ति हडप्ने बानी परेका थापाले एउटा कुटील खेल खेले ।
अन्नपूर्ण मिडियाले पाएकाे लालपुर्जा
जग्गा पास हुनुअघि नै थापाले निरज श्रेष्ठ मार्फत ५ करोड १० लाख मात्रै दिए । बास्तोलाले पाउनुपर्ने ५ करोड ९० लाख थियो । तर, त्यो रकम दिनुको सट्टा बैंकसँगको मिलेमतोमा नक्कली भौचर दिए । सोही भौचरको विश्वासमा बास्तोलाले अन्नपूर्ण ब्रोडकास्ट मिडिया प्रा.लीको नाममा जग्गा पास गरिदिए ।
‘जग्गा पास भएपछि निरज श्रेष्ठ मालपोत कार्यालयबाटै भागे,’ बास्तोलाले दियोपोस्टसँग भने ।
दियोपोस्टलाई प्राप्त भौचर अनुसार २०७५ कार्तिक २० गते शिव प्रसाद बास्तोलाको नाममा देव : विकास बैंक पोखरा शाखामा रहेको खाता नम्बर १०११३२०१४५७००२ मा अन्नपूर्ण ब्रोडकास्टको तर्फबाट निरज श्रेष्ठले प्राईम बैंकको ०००३४३१५१७२१०१ नम्बरको चेक मार्फत १ करोड ४० लाख रुपैयाँ रकम जम्मा गरिदिएको देखिन्छ ।
त्यस्तै गीता श्रेष्ठको नाममा रहेको देव विकास बैंकको खाता नम्बर १०११३२००१११००५ नम्बरमा अन्नपूर्ण ब्रोडकास्टिङ मिडिया प्रा.लीका तर्फबाट निरज श्रेष्ठले प्राईम कमर्सियल बैंकको चेक नम्बर ०००३४३१५१६२१०१ को ३ करोड ८५ लाख रुपैयाँ जम्मा गरेको देखिन्छ । यो भौचरबाट पनि गीताको खातामा एक रुपैयाँ पनि पाईनन् । यी त सबै रामेश्वर थापाको ठगी गर्ने चालपो रहेछ ।
‘बैंकिङ भाषामा यस्तो भौचरलाई नक्कली भौचर भनिन्छ । ‘यो चेक निरज श्रेष्ठ जी नै आउनु भयो र फिर्ता लानु भयो,’ देवः विकास बैंकका पोखरा शाखा प्रमुख दीपक ढुङ्गानाले भने,‘यसरी लैजान मिल्छ । उहाँहरुको कारोबार हामीलाई थाहा भएन ।’
त्यति मात्रै कहाँ हो र ! अर्को ठूलो एमाउन्टको समेत नक्कली भौचर नै तयार पारेको पाइएको छ ।
अन्नपूर्ण ब्रोडकास्ट मिडियाकै नामबाट खातावाला गीता श्रेष्ठको नाममा कैलाश विकास बैंकको पोखरा स्थित तालचोकमा रहेको शाखाको खातामा २०७५ कार्तिक १८ गते प्रभू बैंकको ३ करोड ४५ लाखको चेक जम्मा भएको देखिन्छ । तर, उक्त भौचर समेत नक्कली भएको पाइएको छ ।
भोचरको स्लिप बास्तोलालाई पठाएपनि उनले पाउनु पर्ने रकम भने पाएनन् । यस विषयमा प्रतिक्रिया लिनका लागि दियोपोस्टले कैलाश विकास बैंकको तालचोक स्थित शाखा प्रमुख दिर्घराज अधिकारीलाई सम्पर्क गरेका थियौँ तर उनले बुझ्दैछु भन्दै लामो समय सम्म झुलाई रहे ।
त्यस्तै कार्तिक १८ गते नै गीता श्रेष्ठकै पोखरा स्थित कैलाश विकास बैंकको खातामा अन्नपूर्ण ब्रोडकास्ट मिडियाको तर्फबाट प्रभू बैंकको २ करोड ३० लाख रुपैयाँको चेक जम्मा गरेको देखिएको छ । बास्तोलाको अनुसार उक्त डिपोजिट स्लिप अनुसार पनि उनीहरुले पैसा भने पाएका छैनन् । यस विषयमा शाखा प्रमुख अधिकारीलाई सम्पर्क गर्दा उनले जवाफ दिन चाहेनन् ।
अन्नपूर्ण भन्छ्,‘बोल्न मिल्दैन’
यस विषयमा हामीले अन्नपूर्ण ब्रोडकास्टिङ मिडियाको फोन नम्बर ४२६१६६५ मा सम्पर्क गरेर बुझ्ने कोशिस गर्दा ‘आफूहरुले केही बोल्न नमिल्ने जवाफ आयो ।
अन्नपूर्ण मिडिया नेटवर्कका आधिकारिक प्रतिनिधि बताउने निरज श्रेष्ठलाई सम्पर्क गर्दा ‘अफिसमै बुझ्न’ भन्दै जवाफ दिए ।
यो पनि पढ्नुहोस्:
मिडिया मालिकको डरलाग्दो ‘ठगीकाण्ड’ : बैंकको सेटिङमा यसरी भयो अर्बौंको जहाज ‘कब्जा’ !