मिडिया मालिकको डरलाग्दो ‘ठगीकाण्ड’ : बैंकको सेटिङमा यसरी भयो अर्बौंको जहाज ‘कब्जा’ !

दियो पोस्ट  

दियोपोस्ट व्युरो

काठमाडौं, १२ पुस । नेपाली सञ्चारजगतमा शक्तिशाली मिडिया मालिक मध्ये एक हुन्– चर्चित सञ्चार उद्यमी क्या. रामेश्वर थापा । अन्नपूर्ण मिडिया नेटवर्कका मालिक । जस अन्तर्गत अन्नपूर्ण पोस्ट दैनिक, एपिवान टेलिभिजन, अन्नपूर्णपोस्ट डटकम, सम्पूर्ण साप्ताहिक, आन्नपूर्ण रेडियो लगायत आधादर्जन मिडिया सञ्चालित छन् । त्यतिमात्रै होइन थापाको स्वामित्वमा सिम्रिक एयर, श्री डिस्टलरी, युटिएल लगायत विभिन्न धन्दा चलिरहेका छन् ।

क्या. रामेश्वर थापा


समाजलाई आदर्शको बाटोमा हिडाउनुपर्ने शक्तिशाली मिडिया उद्यमी थापाको एउटा डरलाग्दो ठगीकाण्ड फेला परेको छ । उनको यो ठगीकाण्डलाई मिडियाको आवरणमा भएको सबैभन्दा ‘अनैतिक’ धन्दाको रुपमा समेत बुझीन्छ । यो प्रकरणको थालनी यहाँबाट शुरु हुन्छ ।


क्याप्टेन रामेश्वर थापाको स्वामित्व रहेको उनी नै कार्यकारी अध्यक्ष रहेको कम्पनिको नाम हो–सिम्रिक एयरलाईन्स । सिम्रीक एआरलाईन्सका अध्यक्ष थापा र तत्कालिन अग्नि एयरलाईन्सका अध्यक्ष सुशील बस्नेतबीच २०७० असोजमा करार सम्झौता सम्पन्न भयो । जसमा अग्नि एयरको स्वामित्वमा रहेको ५ वटा जाहाज (डिओ २८ डोर्निएर जाहाज २ थान र जेट स्ट्रिम जहाज ३ थान) सिम्रिक एयरले भाडामा चलाउने सहमति थियो । सम्झौताको अवधि ५ वर्ष ६ महिना ।


अग्नि एयरले जहाज खरिद गर्दा ३ वटा बैंकहरुबाट सहवित्तियकरण कर्जा अन्तर्गत ऋण लिएको थियो । तत्कालिन ग्राण्ड बैंक हालको प्रभु बैंकको अगुवाईमा सनराईज बैंक र इन्टरनेश्नल लिजिङ एण्ड फाईनान्स कम्पनी लिमिटेड समेतको कर्जाका आधारमा अग्निले ५ थान जहाज खरिद गरेको थियो ।

सम्झौतामा अग्नि एयरको नाममा रहेको ५ वटा जहाज सिम्रिक एयरले आफ्नै लोगो ‘ब्रान्ड नेम’ राखेर उडाउने सहमति थियो । त्यसबापत अग्नि एयरको बैंकमा रहेको ऋण (किस्ता) सिम्रिक एयरले तिर्ने र अग्नि एयरका सञ्चालक सुशील बस्नेतलाई एडभान्सको रुपमा रहनेगरी मासिक ३ लाख रुपैयाँ भाडा रकम बुझाउने उल्लेख गरियो ।

 


‘प्रथम पक्ष (अग्नि एयर)को नाममा रहेको ग्राण्ड बैंक (हालको प्रभू बैंक)को अगुवाईमा लगानी भएको सहवित्तियकरण कर्जाको सावाँ ब्याज किस्ता रकम र सहवित्तियकरण बैंकले तोकेको सर्त बन्देज बमोजिम नियमित बुझाउनु पर्ने रकम दोस्रो पक्ष (सिम्रिक एयर)ले बुझाउने छ,’ सम्झौतको ३ को १ दफामा भनिएको छ ।


सम्झौता भएको २ महिनासम्म त सिम्रिक एयर (रामेश्वर थापाले) सम्झौता अनुसार बैंकको किस्ता बुझाए । तर २०७० पौषबाट उनले बैंकको किस्ता बुझाउन छाडिदिए । यता अग्नि एयरको जहाज भने सिम्रिक एयरको ब्रान्ड नेममा थापाले आकाशमा उडाइरहे । बैंकले अग्नि एयरका अध्यक्ष सुशील बस्नेतलाई ताकेता गर्न थाल्यो । सिम्रिक एयरले अग्निको स्वामित्वमा रहेको जहाज उडाएर नाफा लिने तर सम्झौतामा उल्लेख भए अनुसार भाडा नबुझाएपछि अग्निका सञ्चालक बस्नेतले थापाको बद्मासीको भेउ पाउन थाले ।

सम्झौता कार्यान्वयन नभएपछि अग्नि एयरका अध्यक्ष बस्नेत विभिन्न निकाय धाउन बाध्य भए । उनले नागरिक उड्यन प्राधिकरण, तत्कालिन सरकार र विभिन्न निकायमा समेत गुहार माग्न थाले तर कतै सुनुवाई भएन । राजनीतिक पहुँचमा रहेका थापासँग बस्नेतको केही लागेन । उनले २०७२ असारमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरे । जसमा करारको परिपालन गर्नका लागि मध्यस्थता नियुक्त गरिदिन भनिएको थियो । बस्नेतले आफूले दायर गरेको मुद्दामा क्याप्टेन रामेश्वर थापाले आफ्नो सम्पत्ति खान लागेको आरोप समेत लगाएका थिए ।


दायर मुद्दामा लेखिएको थियो– ‘विपक्षी रामेश्वर थापा गैर व्यावसायीक आचरणको वशीभूत भै करार बमोजिम मसँग लिनुपर्ने जहाज लगायत र सञ्चालन सम्बन्धी स्पेयर पार्ट पुर्जा लगायत सम्पूर्ण चिज बस्तु जसको मुल्य हालको बजारमा करिब बीस करोडको होला । ती सामान र फिसिल सम्पूर्ण चीज बस्तु लिएर पनि करानामा बमोजिम विपक्षीमा निरोपित दायित्वको निर्वहन गर्नु भएन र भित्रभित्रै बैंक र वित्तिय समुहका मुख्य पदाधिकारीसँग मिली करारनामाको लिखतमा लेखिएको ५ थान जहाज लगायत अन्य सरसामान सबै खाई दिन लागेको कुरो नीज रामेश्वर थापा र ग्राण्ड बैंकको बीचको भएको पत्राचार एवं करार बमोजिम बैंकको ऋण सावाँ व्याज सहित समय तालिका अनुसार तिर्नुपर्नेमा नतिरेको र त्यस्तो अवस्थामा आफ्नै अगुवाईमा सम्पन्न भएको करारीय दायित्व पुरा गराउन सहवित्तिय समुहले ताकेता सम्म पनि नगरेकोबाट प्रमाणित हुन्छ ग्राण्ड बैंकको मुख्य कार्यकारी प्रमुख समेतको मिलेमतो र विपक्षी रामेश्वर थापाको बदनियतपूर्ण गैर व्यावसायीक साँठगाँठ ।’


२०७२ साल असार १८ गते तत्कालिन ग्राण्ड बैंक हालको प्रभू बैंकले सिम्रिक एयरलाईन्सले सञ्चालन गरिरहेको अग्नि एयरको जहाज रोक्का गरिदिन नागरिक उडयन प्राधिकरणलाई पत्र लेखेको थियो । जसमा सिम्रिक एयरले सम्झौता अनुसार कर्जा चुक्ता नगरेकाले ७ दिन भित्र उक्त जहाज रोक्का गर्न भनिएको थियो ।

पत्रमा लेखिएको थियो,–‘ऋणीले समयमा कर्जा भूक्तान नगरेको तथा सिम्रिक एयरलाईन्स प्रालीले तथा अग्नी एयर प्रालीबीच भएको द्धिपक्षिय सम्झौता बमोजिम समेत सिम्रिम एयरलाईन्स प्रालीले यस बैंक समेतबाट अग्नि एयर प्रालीले उपभोग गरेको कर्जा चुक्ता भुक्तान तालिका उल्लेख भए अनुसारको समयमा नियमित रुपमा भाखा ननघाई तिर्दै जाने शर्तमा सिम्रिक एयरलाईन्स प्रा.लीलाई तपशिल बमाजिमका अग्नि एयर प्रा.लीका नाममा दर्ता कायम रहेको यस बैंक समेतको नाममा रोक्का रही रहेको हवाई जहाजहरु सञ्चालन गर्न मिति २०७०/०६/२० को पत्र मार्फत अनुमति दिइएकोमा सिम्रिक एयरलाईन्स प्रा.ली र अग्नि एयर प्रा.लीले गरेको प्रतिवद्धता अनुसारको कार्य नगरी कर्जा रकम तिर्ने तर्फ कुनै पहल नगरी बरखिलाप गरेकाले बैंकले आफ्नो लगानी सुरक्षित गर्नका लागि बैंक तथा वित्तिय सुंस्था सम्बन्धि ऐन, २०६३ बमोजिम ऋण असुली गर्न लिलामी प्रक्रियामा गइसकेको हुँदा निज कम्पनिलाई उक्त जहाजहरुको उडान स्थागित गर्नका लागि मिति २०७२/०३/११ को पत्र मार्फत अनुरोध गर्दै उक्त पत्र जारी भएको मितिले ७ दिन अर्थात मिति २०७२।०३।१७ भित्र उल्लेखित हवाई जहाजहरुको उडान स्थगन गरी निजले बुझिलिएको पार्टपुर्जाहरु तथा लग बुक लगायत सम्पूर्ण कागजात तथा पार्ट पुर्जाहरु हस्तान्तरण गर्नुहुन अनुरोध गरेकोमा हालसम्म पनि सिम्रिक एयरलाईन्स प्रा.लीले यस सम्बन्धमा कुनै कारबाही अगाडी नबढाई सो को बेवास्ता गरेकाले तपसिलमा उल्लेखित हवाई जहाजहरुको उडान तत्काल रोक्का राखि सो–को जानकारी यस बैंक समेतलाई दिनुहुन अनुरोध गर्दछौँ ।’


यता बैंकले जहाज रोक्को पत्र नागरिक उडयन प्राधिकरणलाई पठाएको थियो भने अर्को तिर क्याप्टेन थापालाई ४० करोडमा २ वटा डोर्निएर जहाज लिलामी मार्फत स्विकार गर्न अफर गरेको थियो ।


सन् २०१५ अप्रील १ मा ग्राण्ड बैंकका तत्कालीन सिइओ राजेन्द्र बहादुर श्रेष्ठले क्याप्टेन थापालाई पत्र लेखेका थिए । पत्रमा दुई वटा एयरक्राफ्टको ४० करोडमा डिल गर्न भनिएको थियो । तर, यता थापाले भने २ वटा डोर्नियर जाहाजलाई ३० करोड मात्रै दिन सकिने भन्दै पत्राचार गरेका थिए ।
त्यसो त अग्नि एयरका अध्यक्ष बस्नेतले सिम्रिक एयरलाई भाडामा जहाज दिन पनि बैंक्हरुले नै दबाव दिएको उल्लेख गरेका थिए । २०७१ साल चैत्र २९ गते उनले ग्राण्ड बैंकलाई सम्झौता कार्यन्वयन गराउन भन्दै पत्र लेखेका थिए । ‘बैंकहरुको दबावले गर्दा मैले सिम्रिक एयरलाईन्सलाई जहाज भाडामा दिनु परेको हो । साँढे ५ वर्षको कुरा त हो भनि मैले विश्वास गरेर उहाँहरुकै उपस्थितिमा दिएको हुँ,’उनले पत्रमा भेनेका छन् ।


तत्कालिन सिम्रिक एयरका उपाध्यक्ष राजेन्द्र बहादुर सिंहले २ वटा डोर्निएर जहाज ४० करोडमा दिन डिल गरेको समेत बस्नेतले आफ्नो निवेदनमा लेखेका छन् । ‘२५ चैत्र २०७१ मा ग्राण्ड बैंकमा कामु सिइओ राजेन्द्र श्रेष्ठ ज्युको रोहबरमा सिम्रिक एयरको उपाध्यक्ष श्री राजेन्द्र बहादुर सिंह ज्युको एउटा प्रस्ताव आयो । डिओ २८ डोनियर हामी सिम्रिकले ४० करोडमा लिन्छौँ,’ राजेन्द्र बहादुर सिंहलाई उदृत गर्दै बस्नेतले निवेदनमा लेखेका छन् ।’


२०७२ अशोज १४ गते प्रकाशित नागरिक दैनिकमा एउटा सुचना छापियो – ‘अग्नि एयरका ५ थान जहाज र सामनहरु लिलामी गर्ने बारेको सुचना ।’ बैंकसँगको सेटिङमा रामेश्वर थापाले आफूले उडाउँदै आएको २ थान डोर्नियर जहाज लिलामी सकार्न निवेदन दिए जसको मुल्य थियो २३ करोड रुपैयाँ मात्रै । स्रोतका अनुसार त्यतिबेला ती जहाजको मुल्य एक अर्बभन्दा बढी थियो । तर, थापाले सेटिङ मिलाएरै २३ करोडमा ती जहाजहरु कब्जा गर्न सफल भए ।


२०७३ माग २७ गते जिल्ला अदालतलाई नागरिक उड्यन प्राधिकरणले पठाएको जवाफ अनुसार ‘अग्नि एयरले ऋण नतिरेको हुनाले सिम्रीक एयरको नाममा जहाजहरु दर्ता भएको’ उल्लेख गरिएको छ ।


‘राज्यका सबै संयन्त्रलाई सेटिङ मिलाएर हाम्रो सम्पत्ति कब्जा गरियो,’ बस्नेतले दियोपोस्टसँग भने,‘अहिले म सडकछाप भएको छु । मेरो एकल शेयर रहेको अग्नि एयर यतिबेला बैंक, वित्तिय संस्थाहरु र रामेश्वर थापाले मिलेर बेचविखन गरे ।’


स्रोतका अनुसार २३ करोडमा लिलाम सकारेपछि थापाले केही वर्ष उक्त जहाज आफूले नै चलाए । नाफा उठाएपछि केही महिनाअघि सिता एयरलाई ६५ करोडमा बेचेका छन् ।


(यो प्रकरणमा तत्कालिन ग्राण्ड बैंक हालको प्रभू बैंक, सनराईज बैंक र इन्टरनेश्नल लिजिङ एण्ड फाइनान्स कम्पनिको भूमिकाबारे अर्को अंकमा समाचार प्रकाशन गरिनेछ ।)