प्रभु बैंकले नक्कली स्टेटमेन्ट बनाएर ३ करोड ५० लाख रूपैयाँ ठगी गरेको भन्दै सीआईबीमा जाहेरी

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रभु बैंक लिमिटेडले बैंकको किर्ते स्टेटमेन्ट बनाई ३ करोड ५० लाख ठगी गरेको भन्दै प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोमा जाहेरी परेको छ । पीडित अम्बिर बाबु गुरुङले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, प्रमुख व्यापार अधिकृत रमेश कुमार श्रेष्ठ र पूर्व प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन विरुद्ध जाहेरी दर्ता गराएका हुन् ।

 

बैंकका उच्च अधिकारीहरुले ठगी, विश्वासघातसम्बन्धी कसुर गरेको उनको जाहेरीमा दाबी गरिएको छ । गुरुङ अनुसार उनको श्रीमतीको नाममा दर्ता रहेको बौद्ध हाउजिङ कम्पनि प्रालीको जग्गा खरिदका विषयमा प्रभु बैंक, बौद्ध हाउजिङ र प्रतिक मल्टि प्रपोज लिमिटेडबीच त्रिपक्षीय सम्झौता भएको थियो ।

सम्झौता अनुसार उल्लेखित ७ हजार २ सय २४.९७ वर्गमिटर जग्गाहरु सम्झौताको दोस्रो पक्ष प्रतिक मल्टिप्रपोज लिमिटेडले खरिद गर्न तीनै पक्ष राजी भएका थिए । करारनामा अनुसार करारनामा बमोजिम दोश्रो पक्ष प्रतिक मल्टिप्लेक्स प्रा.लि.को नामको प्रोग्रेसिभ फाईनान्स लि. मा रहेको ३………….४ नं. को खाताबाट भुक्तानी हुनेगरी प्रोग्रेसिभ फाईनान्स लि. को चेक नम्बर ००००१७३७५७९१०२ नं. को तीन करोड ५० लाख रुपैया जाहेरवाला समेत रहेका अम्बिर गुरुङको स्वामित्व रहेको बौद्ध हाउजिङको खातामा जम्मा गर्न सबै पक्ष राजि थिए । सोही अनुसार बौद्ध हाउजिङको नाममा पाउनुपर्ने रकम प्रभु बैंकको खातामा जम्मा गराई स्टेटमेन्टमा भने बौद्ध हाउजिङकै नाममा जम्मा भएको देखाई किर्ते स्टेटमेन्ट तयार पारिएको जाहेरीमा उल्लेख छ । गुरुङले ब्युरोमा स्टेटमेन्ट, सम्झौता र अन्य प्रमाण समेत बुझाएका छन् । ‘निज प्रभु बैंकले सम्झौता विपरित नक्कली स्टेटमेन्ट खडा गरि बौद्ध हाउजिङको नाममा जम्मा हुनुपर्ने रकम आफ्नै बैंकको खातामा जम्मा गरि किर्ते गरि ठगी गरि आपराधिक विश्वासघात गरि हाम्रो ३ करोड ५० लाख रुपैयाँ आपराधिक लाभ लिएको देखिएकाले निजहरुमाथि अनुसन्धान गरि मुलुकी अपराध संहिता २०७४, अनुसार कारबाही गरिपाउँ,’ उनले जाहेरीमा भनेका छन् ।

प्रभु बैंकले विगत ४ वर्षदेखि रकम ठगी गरि पैसा नदिएको र हाल रकम फिर्ता पाउनु पर्ने व्यक्तिलाई नै ३५ दिने सुचना निकालेर चरित्र हत्या गरेको उनले दाबी गरेका छन् । ‘निज विपक्षीहरुले गरेको आपराधिक विश्वासघात तथा किर्ते कार्यलाई सहयोग पुग्नेगरि हाल प्रमुख कार्यकारी अधिकृत पदमा रहेका सुमन शर्मा, प्रमुख व्यापार अधिकृत रमेश कुमार श्रेष्ठले मिति २०८३।०१।१६ गते नयाँ पत्रिका राष्ट्रिय दैनिक पत्रिकामा सुचना प्रकाशन गरि मेरो र श्रीमती रेनुका गुरुङको चरित्र हत्या गरि आपराधिक कार्य गरेको हुनाले निजहरुमाथि समेत छानबीन गरिपाउँ,’ उनले जाहेरीमा भनेका छन् ।

 

सिफारिस