काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आन्तरिक विवादका बीच काठमाडौँको भृकुटीमण्डपमा जारी छ । महाधिवेशन अन्तर्गत आज बिहान ८ बजेका लागि तय गरिएको बन्द सत्रको समय परिवर्तन गरी बिहान १० बजेका लागि सारिएको छ ।
महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया जारी रहेकाले त्यसका लागि थप समय छुट्याउन बन्द सत्रको समय सारिएको आयोजकले जानकारी दिए । प्रतिनिधि दर्ता प्रक्रिया बिहान ८ बजेदेखि निरन्तर चलिरहेको बताइएको छ ।
सातै प्रदेशबाट प्रतिनिधिहरू आउने क्रम जारी रहेकाले नाम दर्ता प्रक्रिया नसकिएको आयोजककले बतए । हालसम्म २ हजार ६ सय ६२ भन्दा बढी प्रतिनिधिहरूले नाम दर्ता गराइसकेको आयोजक स्रोतले जनाएको छ ।
प्रतिनिधिहरूको उल्लेख्य उपस्थितिले विशेष महाधिवेशनको वैधता र बन्द सत्रबाट हुने निर्णय प्रक्रियालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ । यद्यपि, अभ्यासगत रूपमा यो विशेष महाधिवेशनलाई पार्टी नेतृत्वभित्र देखिएको आन्तरिक विवादसँग पनि जोडेर हेरिएको छ ।
बन्द सत्रमा पार्टीको नीति, नेतृत्व र संगठन सम्बन्धी महत्वपूर्ण विषयमा छलफल तथा निर्णय हुने बताइएको छ । विशेष महाधिवेशनमा सहभागी संख्या र त्यहाँ हुने फैसला प्रक्रियाले कांग्रेसको आगामी राजनीतिक दिशालाई प्रभाव पार्ने देखिन्छ ।