के हो मैसमी रुघाखोकी ? यस्ता छन् लक्षण र बँच्ने उपाय

Diyo post  

काठमाडौँ, माघ ३ । अहिले जाडो मौसम चलिरहेको छ । यद्यपी, मौसम परिवर्तनको संकेत पनि देखिएका छन् । पछिल्ले समय विशेषगरि राजधानी उपत्यकामा मौसमी रुघाखोकी ( सिजनल एन्फ्लुएन्जा ) लाग्नेको संख्या बढ्दो छ । यसलाई कतिपयले सुँगुरबाट सर्ने स्वाइनफ्लु भनेर प्रचार गरे पनि खासमा यो सिजनल इन्फ्लुएन्जा नै हो । यो मानिसबाट मानिसमा सर्ने एक किसिमको सरुवा रोग हो । यो कुनै नयाँ रोग नभइ श्वास–प्रश्वास प्रणालीमा भाइरसद्धारा लाग्ने तीब्रखाले संक्रमण हो ।

कसलाइ बढी जोखिम
यो रोग प्रायः सामान्य रुघाखोकीका रुपमा देखा पर्छ र यी लक्षण केही दिनमा आफैँ हराएर जान्छन् भने केही मानिसमा जटिलता पनि देखा पर्न सक्छ । विशेषगरि, गर्भवती महिला, ५ बर्षमुनिका बालबालिका , ६५ बर्षमाथिका बुढाबुवढी, रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु र दीर्घरोगबाट प्रभावितहरुमा यसको जोखिम बढी हुन्छ र मृत्यु हुने सम्भावना पनि अन्यमा भन्दा बढी हुन्छ ।

लक्षण र चिह्न

  • खोकी लाग्ने, घाँटी दुख्ने ।
  • हाच्छिऊँ आउने, नाकबाट पानी बहने वा नाक बन्द हुने ।
  • टाउको दुख्ने, आलस्य हुने ।
  • हाडजोर्नी दुख्ने र मांसपेशी दुख्ने ।

बालबालिकामा देखिने थप लक्षण

  • वाकवाकी लाग्ने वा बान्ता हुने ।
  • पेट मडारिने ।
  • झाडा–पखाला लाग्ने ।

बँच्ने उपाय

  • खोक्दा वा हाच्छिउँ गर्दा नाक, मुख छोप्ने (सफा रुमाल, कपडा वा पाखुराले) ।
  • साबुनपानीले पुरै सफा हुनेगरि पटक–पटक हात धुने ।
  • हात नमिलाउने, नमस्कार गर्ने ।
  • दुरी कायम गर्ने (अन्य ब्यक्तिसंग कम्तीमा १ मिटर वा २ हात टाढा रहने) ।
  • रोगीलाई बेग्लै वा खुला झ्याल भएको कोठामा राख्ने (सम्भव भएसम्म रोगीलाई अन्य व्यक्तिभन्दा अलग्गै राख्ने) ।
  • आँखा, नाक तथा मुखमा अनावश्यक हात नलैजाने । जथाभावी नथुक्ने वा सिँगान नफाल्ने ।
  • शंकास्पद रोगीबाट सकभर टाढै रहने, बाहिर हिँड्दा अनिवार्य माक्स लगाउने ।
  • रुघाखोकी लागेका व्यक्तिले ३–५ दिनसम्म घरमै आराम गरेर बस्ने ।
  • रोगीलाई पौष्टिक खाना र प्रशस्त मात्रामा झोलिलो खानेकुरा, भातको माड, दाल, तरकारी र गेडागुडीको झोल आदी खुवाउने ।
  • चुरोट–रक्सी नखाने ।
  • दुध चुस्ने उमेरका बच्चालाई साबिकबमोजिम नियमित स्तनपान गराउने ।
  • नयाँ पत्रिकाबाट

सम्बन्धित खबर