संसदीय सुनुवाई विशेष समितिद्वार राजदुतको लागि दुई जना अनुमोदित

Diyo post  

काठमाडौँ,माघ ४ । संसदीय सुनुवाई विशेष समितिले दुई जना राजदुतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

संसदीय सुनुवाई विशेष समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले सरकारद्धारा फ्रान्सका लागि प्रस्तावित राजदुत दिपक अधिकारी र थाईल्याण्डका लागि प्रस्तावित राजदुत गणेशप्रसाद ढकालको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । परराष्ट्र मन्त्रालयका सहसचिवद्धय अधिकारी र ढकालको नाम क्रमशः फ्रान्स र थाईल्याण्डको राजदुतमा सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए ।

समितिको गत पुस ६ र ९ गते बसेको मन्त्रीपरिषद बैठकले अधिकारी र ढकालसहित विभिन्न देशका लागि ५ जना राजदुतको नाम सिफारिस गरेको थियो । बैठकमा फ्रान्सका लागि प्रस्तावित राजदुत अधिकारीले दुई मुलुकबीचको कुटनीतिक सम्बन्धलाई अझै प्रगाढ बनाउन आफू लागिपर्ने प्रतिवद्धता जनाएको हो । उहाँले मुलुकको समृद्धिका लागि आर्थिक कूटनीतिलाई पनि आफूले प्राथमिकता दिने बताए ।

थाईल्याण्डका लागि प्रस्तावित राजदुत ढकालले मुलुकमा लगानी भित्रयाउने विषयलाई आफूले उच्च प्राथमिकता दिने बताए । उहाँले थाईल्याण्ड नेपालको विकास साझेदार मुलुक भएकाले थप लगानीको सम्भावनाको खोजी गर्ने योजना पनि समितिलाई बताएको हो ।

समितिको अर्का बैठक आगामी माघ ८ गते मंगलबार बिहान ११ बजे बोलाइएको छ । बैठकमा बाँकि रहेका कुवेतका लागि प्रस्तावित राजदुत दुर्गाप्रसाद भण्डारी, क्यानडाका लागि प्रस्तावित राजदुत भृगु ढुंगाना र संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिमा नियुक्तीका लागि प्रस्तावित मणिप्रसाद भट्टराईसँग सुनुवाई गर्ने निर्णय पनि गरिएको समितिका सभापति कर्णले बताए ।

सम्बन्धित खबर