भादगाउँ, माघ ५ । भक्तपुर नगरपालिकाको चौँथो नगरसभाले शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका २०७५ सर्वसम्मतिले पारित छ ।
स्थायी बसोबास गर्ने गरीब, जेहेनदार विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी रु पाँच लाखसम्मको ऋण दिने निर्णयलाई नपाले सर्वसम्मतिले पारित गरेको हो ।
निर्देशिका अनुसार विधायन समितिका संयोजक हरिराम सुवालले नपाको बजेटलाई मध्यनजर राखी विद्यार्थीलाई ऋण दिने प्रावधान राखिएको र किस्ताबन्दीमा ऋण असुल गर्ने व्यवस्था गरिएको बताएका छन् । नगरप्रमुख सुनिल प्रजापतिले शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका २०७५ स्थानीय तहको निर्वाचनको दौरानमा घोषणापत्रमा उल्लेख भएअनुसार नगरका गरीब तथा जेहेनदार विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न सहयोग गर्ने उद्देश्यका साथ ल्याइएको बताएका छन् ।
ऋणको दुरुपयोग हुन नदिनको लागि आवश्यक प्रक्रिया पुर्याएर मात्र शैक्षिक ऋण उपलब्ध गराउने नगरप्रमुखले बताएका छन् ।
त्यसैगरी भक्तपुर नगरपालिकाको चौँथो नगरसभाले अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरणसम्बन्धी कार्यविधि २०७५ समेत पारित गरेको छ ।
अपाङ्गता भएका नगरवासीलाई सहज ढङ्गले परिचयपत्र वितरण गर्ने उद्देश्यले कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याइएको विधायन समितिका सयोजक सुवालले बताए ।