काठमाडौँ, माघ ८ । पानी हाम्रो शरीरमा चाहिने अत्यावश्यक पदार्थ हो । करिब ७० प्रतिशत मानव शरीर पानीबाट नै बनेको हुन्छ । स्वस्थ रहन शरीरमा पानीको मात्रा कायम राख्न अत्यावश्यक छ । यद्यपी, शरीरमा विभिन्न कारणले पानीको कमी हुन्छ । यसरी पानीको कमी हुनुलाई डिहाइड्रेसन भनिन्छ । अत्याधिक गर्मी, झाडापखाला, शरीरबाट रगत बगेमा र पानी कम पिउने गरेमा डिहाईड्रेसनको उच्च जोखिम हुन्छ । तयस्तै, दैनिक धेरै शारीरिक परिश्रम गर्ने मानिसको शरीरमा समेत पानीको खपत बढी हुने हुँदा पर्याप्त नपिएमा कमी हुन जान्छ । अब जानौँ, पानीको कमीका कारण कस्ता समस्या देखा पर्छन्ः
१. मिर्गौलामा समस्या
शरीरमा पानीको कमीले मिर्गौलामा समस्या देखिने गर्छ । रगतमा युरिया र क्रियटिनाइनको मात्रा बढ्ने भएकाले त्यसले मिर्गौलामा असर पुर्याउँछ । पानीको कमी हुँदा विकारयुक्त बस्तु बाहिर निस्कन पाउँदैन । फलस्वरुप मिर्गौला कमजोर हुन्छ ।
२. रक्तचापमा कमी
पानीको कमीका कारण एक्कासी शरीरमा रक्तचाप (ब्लडप्रेसर) घट्ने हुन्छ । ब्लडप्रेसर घट्दा मुटुको चाल बढ्ने, रिँगटा लाग्ने, बान्ता आउनेजस्ता समस्या देखा पर्छन ।
३. चाउरीपन र छाला सुक्खा
शरीरमा पानी कम हुँदा छाला सुक्खा हुने तथा चाउरी पर्ने समस्या हुन्छन् । त्यस्तै, मौसमविपरित ओठ फुट्ने, सुक्खा हुने, चमक हराउने र रुखोपन आउने गर्छ ।
४. एक्कासी मुड परिवर्तन
एक्कासी रिस उठ्ने, झर्किने, बोल्न् मन नलाग्ने भएमा पानीको कमी भएछ भन्ने बुझ्नुपर्छ । डिहाइड्रेसन हुँदा मानसिक असर पर्ने भएकाले यो अवस्थामा छिटो मुड परिवर्तन हुने गर्छ ।
५. जोर्नी र मांशपेशीमा समस्या
पानीले शरीरका जोर्नी तथा मांसपेशीलाई नरम बनाउने काम गर्छ । पानीको मात्रा कम हुँदा यी दुबैमा पीडा हुन्छ । त्यस्तै, पिँडौला दुख्ने, बाउँडिनेजस्ता समस्यासमेत देखा पर्छ ।
६. पाचनसम्वन्धी समस्या
पानीको कमी हुँदा क्याल्सियम र म्याग्नेसियमको पनि कमी हुन्छ । अनि, पाचनसम्बन्धी समस्या आउँछ । पाचन प्रणालीमा समस्या आउँदा अल्सर हुने, पेिटमा ग्यास जम्मा हुने आदि समस्या देखिन्छ ।
७. टाउको दुख्ने, थकान महसुस हुने
शरीरमा पानीको कमी भएमा थकान महसुस हुने र टाउको भारि भई दुख्ने हुन्छ । पानीका मात्रा अलिकति मात्र कमी हुँदासमेत पुरै शारीरिक प्रणाली नै कमजोर हुन्छ । यसको असरस्वरुप थकान महसुस हुन्छ । नयाँ पत्रिकाबाट