काठमाडौं, ८ माघ । कुनै समय हलोदेखि हाईड्रोसम्म नारा दिएर चर्चा कमाएको मेगा बैंक यतिबेला भने भित्र भित्रै समस्याग्रस्त बन्दै गएको छ । बैंकका संस्थापक शेयरधनीहरु नै बैंक कर्मचारीको रबैयाबाट आजित भएका छन् । कर्मचारीले बैंकको संस्थापक शेयरधनीबाटै सर्भिस चार्ज माग्न थालेपछि उनीहरुले सार्वजनिक रुपमै बैंकका कर्मचारीको आलोचना गर्न थालेका हुन् ।
मेगा बैंककी संस्थापक शेयर धनी हुन्–गीता अन्जान केसी । तर उनै केसीले मेगा बैंकको जीतपुर शाखामा नमिठो अनुभव भोग्नु पर्यो । आफैले लगानी गरेको बैंकले ‘लोन एप्रुभ नहुँदै’ सर्भिस चार्जका नाममा गोजी खर्च माग्छन् भनेर कहिल्यै सोचेकी थिइनन् । तर भइदियो त्यस्तै । बैंकको शाखा प्रमुख सरोज भण्डारीले ‘लोन एप्रुभ नहुँदै’ सर्भिस चार्ज मागेको र सर्भिस चार्ज लिएपछि लोन नै एप्रुभ नभएको खुलाशा भएको हो ।
‘सर्भिस चार्ज लिने सिस्टम मेगा बैंकमा छ की छैन । सर्भिस चार्ज नहुँदै सर्भिस चार्ज लिने यो कस्तो चलन हो,’ उनले केही दिनअघि मेगा बैंकको आठौँ वार्षिक साधारण सभामा भनेकी थिइन्,‘यस्तो किसिमको कर्मचारीले बैंकलाई कहाँ पुर्याउलान ?’
ब्रान्च म्यानेजरले गोजी खर्च लिएको थाहा भएपछि उनलाई छानबिन गर्ने मेगा बैंकका प्रमख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले सार्वजनिक रुपमै बताएकी थिइन् ।
मेगा बैंकको जीतपुर शाखा प्रमुख सरोज भण्डारीले आफूलाई अहिलेसम्म केन्द्रीय कार्यालयबाट यससम्बन्धमा कुनै सोधपुछ नभएको बताए ।