संसद भवनको रोष्टम कांग्रेस सांसदद्धारा कब्जा, वैठक अबरुद्ध

Diyo post  

काठमाडौँ, माघ ८ । नेपाली कांग्रेसका सांसदहरुले आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् । गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताल संघीय सरकार मातहत ल्याउन माग गर्दै कांग्रेस सांसदहरुले आजको बैठकमा पनि अवरोध गरेका हुन् ।

बैठकको सुरुमै बोल्दै कांग्रेस सांसद प्रकाशमान सिंहले सरकारले दुई तिहाईको दम्भ देखाएर आफ्ना पार्टीको नेताको नाममा स्थापना गरिएको अस्पताल संघीय सरकार मातहतमा राख्न नचाहेको आरोप लगाएका छन् । अस्पताल संघीय सरकारको मातहत ल्याउने निर्णय नगरेसम्म संसद बैठक संचालन गर्न नदिने चेतावनी दिएलगत्तै कांग्रेस सांसदले रोष्टम घेराउ गरेका थिए ।

सभामुख कृष्णबहादुर महराले मागका सम्बन्धमा आपूmले सरकारको ध्यानाकर्षण गराईसकेको भन्दै संसद बैठक सूचारु गराउन आग्रह गर्नुभएको थियो । पहिलो पटक १५ मिनेटका लागि स्थगित भएको बैठक काँग्रेस सांसदले अवरोध गरेपछि दोस्रो पटक फेरी १५ मिनेटका लागि स्थगित गरिएको हो ।

दोस्रो बैठक शुरु हुनासाथ सभामुख महराले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५’ पेश गर्न अनुमति दिएका थिए । तर काँग्रेस सांसदहरुले शिक्षामन्त्री पोखरेललाई घेराबन्दीमा पारेर पुनः रोष्टर्म घेराउ गरी नाराबाजी गरेका थिए । काँग्रेसले हिजो पनि प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध पारेको थियो ।

सम्बन्धित खबर