काठमाडौं, माघ ११ । एक दिवसीय मान्यता पाएपछि आजबाट नेपालले युएईमा एक दिवसीय सिरिज खेल्दै छ । नेदरल्याण्डविरुद्ध पहिलो एक दिवसीय खेल्दा नेपालले एकमा पराजय र अर्कोमा विजय हात पारेको थियो । तर, तीन एक दिवसीय अन्तर्गत नेपालले आज पहिलो खेलमा युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । यो प्रतियोगितापछि नेपालले एकदिवसीय वरियतामा प्रवेश पाउनेछ । यसकारण पनि सिरिज जित्नैपर्ने दबाब र अवसर नेपालसामू छ । सिरिज गुमाउँदा नेपालले वरियता नपाउने होइन तर जित्दा वरियतामा अगाडि आउँने भएकोले पनि नेपालले जितभन्दा अर्को विकल्प देखेको छैन ।
खेल समय
नेपाली समय अनुसार आज मध्यान्ह ११ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ । अर्को खेल नेपाली यही समयमा भोलि र तेस्रो खेल २८ जनवरीमा यही समयमा हुनेछ ।
यसरी हेर्न सकिन्छ प्रत्यक्ष प्रसारण
युएईको क्रिकेट बोर्डले आफ्नो सामाजिक संजालको युट्युव वा फेसबुकबाट खेलको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । जुन प्रसारण इन्टरनेटको पहुँच हुने जोसुकैले विश्वभरबाट हेर्न सक्नेछन् । डब्ल्यूडब्ल्यूडब्ल्यू डट पिआइटिसीएच भिजन डटकम वेवसाइटबाट खेलको प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ ।
यस्तो छ नेपाली टोली
पारस खड्का –कप्तान), ज्ञानेन्द्र मल्ल (उप कप्तान), सन्दिप लामिछाने, अभिनाश बोहरा, बसन्त रेग्मी, भीम सार्की, बिनोद भण्डारी (विकेट किपर), दिपेन्द्र ऐरी, करण केसी, ललित राजबंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहित पौडेल, सोमपाल कामी, सन्दिप जोहरा छन् ।
यस्तो छ युएईको टोली
मोहम्मद नबिद (कप्तान) मोहमद उस्मान (उपकप्तान), अस्फाक अहमद, चिराग सुरी, साइमन अनवर, मोहम्मद बुता, घुलाम शाबर, इमरान हैदर, ताहिर गुघद, अमिर हायत, जाहुर खान, क्वादिर अहमद, फहद नवाज, खब्दुर शाकुर, सुल्तान अहमद, सीपी रिजवान छन् । प्रभावशाली तीन खेलाडी भने टिममा हुने छैनन् । दुई खेलाडीमाथि प्रतिबन्ध र एक खेलाडीले सन्यास लिएका छन् ।
हेड ट हेडमा को अगाडि ?
अहिलेसम्म नेपालले युएईसँग १५ खेल खेलेको जसमा ११ वटामा हार बेहोर्दा तीन खेल मात्रै नेपालले जित्न सकेको छ । एक खेल बराबरी भएको छ । यस्तोमा नेपाललाई विगतका सबै हारको बदला सिरिज जितेर लिने अहंम अवसरसमेत आएको छ ।