रत्ननगर, माघ ११ । मापदण्डविपरीत सञ्चालित चितवनका चार क्रसर उद्योगलाई भरतपुर महानगरपालिकाले सञ्चालनमा रोक लगाएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी र भरतपुर महानगरको राजश्व विभागको संयुक्त टोलीले त्रिशूली किनारका तीन र भरतपुर–२१ कोे एउटा क्रसर उद्योगलाई सञ्चालनमा रोक लगाएको हो ।
बन्द भएका उद्योगमा मकवानपुर इञ्जिनीयरिङ तथा म्यानुफ्याक्चरिङ कम्पनी प्रालिले भरतपुर महानगरपालिका–२९ को जुगेडी बजारमा सञ्चालन गरेको क्रसर उद्योग, २९ नं वडाकै भोर्लेस्थित महानगर बालुवा तथा क्रसर उद्योग रहेका छन् ।
त्यसैगरी कविलासको अस्फाल्ट उद्योग र भरतपुर महानगरपालिका २१ पार्वतीपुरमा रहेको भवानी विल्डर्स कन्ट्रक्सनमार्फत सञ्चालित अस्फाल्ट उद्योग सञ्चालनमा रोक लगाइएको छ । अस्फाल्ट उद्योगले गिटी र बालुवाको प्रशोधन गर्ने गरेको थियो । मापदण्डविपरीत सञ्चालित क्रसर उद्योगलाई बन्द गराइएको प्रमुख प्रशासकीय अधिकृतसुवेदीले जानकारी दिए ।
क्रसर सञ्चालनसम्बन्धी हालै तयार भएको प्रदेश कानुनअनुसार स्थानीय तहमा इजाजत नलिई, कर नतिरी उद्योग चलाउन नपाउने व्यवस्था छ ।
नदीनालाबाट वर्षायामको समयमा भारतीय सिमानाबाट तराईमा ५०० मिटर, पहाडी क्षेत्रमा ३०० मिटर, हाइटेन्सन लाइनबाट १०० मिटर, घना वन निकुञ्ज र धार्मिक क्षेत्रबाट दुई किमी टाढादेखि नदीजन्य उत्खनन गर्न पाइने कानूनमा उल्लेख छ ।