‘दुरसंचार पुर्वाधार कम्पनी’ गठन गर्ने तयारीमा सरकार

Diyo post  

काठमाडौँ, माघ ११ । सरकारले ‘दूर संचार पूर्वाधार कम्पनी’ गठन गर्ने तयारी गरेको छ ।

सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दूर संचार क्षेत्रको पूर्वाधार निर्माणको कामलाई व्यवस्थित बनाउन सरकारले छुट्टै ‘दूर संचार पूर्वाधार कम्पनी’ गठन गर्ने कामलाई अघि बढाएको जानकारी दिएका छन् ।

शुक्रबार संघीय संसद अन्तरगतको अर्थ समितिको बैठकमा मन्त्रालयको भावी कार्ययोजनाबारे जानकारी गराउँदै उहाँले दूर संचार क्षेत्रको पूर्वाधार निर्माणको एउटै काममा थुप्रै बजेट खर्च हुने गरेको उल्लेख गर्दै अव त्यसलाई सदुपयोग गरेर अघि बढन पनि छुट्टै कम्पनी बनाउने तयारीमा सरकार लागेको स्पष्ट पारे । खन्ने र पुर्ने काममा मात्रै बजेट खर्च हुने गरेकाले त्यसलाई अन्त्य गर्न पनि सरकारले दूर संचार क्षेत्रको पूर्वाधार निर्माणका लागि ठोस योजना बनाउन छुट्टै कम्पनी बनाउने सोच अघि सारेको मन्त्री बास्कोटाको भनाई छ ।

मन्त्री बास्कोटाले सो कम्पनी नेपाल टेलिकमको मातहतमा रहने र त्यसले विस्तार गर्ने फाईबर, टावरलगायतका काममा निजी क्षेत्रका दूर संचार सेवा प्रदायक संस्थाहरुले पनि लगानी गर्ने कानुनी व्यवस्था गर्ने योजना पनि अघि सारेका छन् । थोरै लगानीमा धेरै प्रतिफल दिने भएकाले पनि सो कम्पनी सरकार र निजी क्षेत्र दुवैका लागि फाईदाजनक हुने मन्त्री बास्कोटाको दावी छ ।

सम्बन्धित खबर