काठमाडौँ, माघ १४ । चीन सरकारले कोटेश्वर–कलंकी सडक विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
सोमबार ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ राजदुत होउ यान्छीले सडक विस्तार गरी हस्तान्तरण गरेका छन् । चीनले पाँच वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्मको ८ लेनको १० किलो मिटर ४ सय मिटर सडक विस्तार गरेको थियो ।
करिव ५ अरव अनुदान सहायतामा चीनले सो सडक खण्ड विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । चीनले सडक हस्तान्तरण गरेलगत्तै प्रधानमन्त्री ओलीले सो सडक खण्डको उद्घाटन गरेका थियो । कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सडक विस्तार गरी हस्तान्तरण गरेकोमा चीन सरकारप्रति आभार व्यक्त गरेका छन् । चीनले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्योग, सडक निर्माणको क्षेत्रमा विगतदेखि नै पु¥याउँदै आएको सहयोगको पनि त्यस अवसरमा प्रधानमन्त्री ओलीले खुलेर प्रशंशा गरे ।
प्रधानमन्त्री ओलीले हिमाल, पहाड र नदीबाट सुरु भएको चीनसँगको सम्बन्ध समस्यासहित रहेको पनि उल्लेख गरे । उनले मुलुकलाई समृद्ध बनाउने अभियानलाई सफल बनाउन भारत र चीन दुवै छिमेकी मुलुकबाट साथ, सहयोग र समर्थनको अझै आशा गरिएको पनि स्पष्ट पार्नु भयो ।
कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदुत यान्छीले नेपालको विकासमा आवश्यक सबै खालको सहयोग गर्न चीन सरकार प्रतिवद्ध रहेको बताए । काठमाडौंको २७ किलोमिटर लम्बाई रहेको रिङरोडको पहिलो खण्ड चीन सरकारले विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । सडक विस्तारको काम सकिएलगत्तै यो सडक खण्ड आधुनिक स्वरुपमा देखिएको छ ।