सिन्धुली, माघ १४ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चोरीको मोटरसाइलसहित चालकलाई नियन्त्रणमा लिएको छ ।
बीपी राजमार्गको सिन्धुली सडक खण्डअन्र्तगत कमलामाई नगरपालिका–४ हिरापानीमा गरिएको जाँचका क्रममा आज चोरीको मोटरसाइल र चालकलाई नियन्त्रणमा लिएको हो ।
जाँचमा शङ्का लागेपछि सवारी दर्ता प्रमाणपत्र अनुसार मोटरसाइकलको नम्बर प्लेट नभएपछि तीनपाटन गाउँपालिका–२ भीमस्थानका १९ वर्षीय रोशन सुनुवारलाई नियन्त्रणमा लिइएको प्रहरी नायब निरीक्षक बिष्णु बस्नेतले बताए ।
बा९३प ८५१७ नम्बरलाई परिवर्तन गरी बा८७प ८९७४ नम्बर बनाई चलाएको अवस्थामा मोटरसाइकल पक्राउ गरिएको हो । नुवाकोटको थानापति गाउँपालिका–८ घर भएका केदार पाठकको नाममा रहेको २२० सीसीको पल्सर मोटरसाइकल २०७५ साउन २८ गते पशुपति क्षेत्रबाट हराएको भनि ट्राफिक प्रहरी महाशाखा काठमाडौँमा उजुरी परेको थियो । पक्राउ परेका सुनुवारले साथीको मोटरसाइकल मागेर आफूले चलाएको बताएको प्रहरीको भनाइ छ ।(रासस)