काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरीमा संलग्न महिलाको विवाह गरेको तीन वर्ष भएपनि सन्तान नभएपछि शिशु चोरी गरेको खुलेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले गएराति काँडाघारीबाट शिशुलाई उद्दार गरेको छ भने बच्चा लिएर जाने महिला दैलेख घर भएकी मनकुमारी सिंहलाई नियन्त्रणमा लिएको छ ।
शुक्रबार दिउँसो प्रसूति गृहबाट काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर मनकुमारी सम्पर्कविहीन भएकी थिइन् । लगत्तै क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा खोजीमा जुटेको प्रहरीले उनलाई काँडाघारीमा फेला पारेको हो ।
स्रोतका अनुसार, प्रहरी टोली उनको घरमा पुग्दा सिंहले शिशुलाई आफूले नै जन्म दिएको दाबी गरेकी थिइन् । तर, सीसी टीभी फुटेज, त्यसबेला लगाएको लुगा लगायतका आधारमा उनले शिशुलाई प्रसूति गृहबाट ल्याएको प्रहरीेले पुष्टि गरेको छ ।
प्रहरीले प्रसुति गृहमा देखिँदाको हुलिया अनुसारको उनको कपडा पनि बरामद गरेको छ ।
सीसी टीभी फुटेजमा उनलाई लिन एक किलोमिटर परसम्म उनकी दिदी गएको देखिएको छ । त्यसैले प्रहरीले दिदीलाई पनि नियन्त्रणमा लिएको छ ।
प्रहरीले नेपाली सेनामा कार्यरत् उनका श्रीमान्लाई पनि नियन्त्रणमा लिएको छ । शिशुलाई भने मध्यराति नै आफ्नो बुबाको जिम्मा लगाइएको छ ।
स्रोतका अनुसार शुक्रबार दिउँसो केहिवेरका लागि शिशु समातेकी मनकुमारी त्यहाँबाट निस्किएर ट्याक्सी चढेकी थिइन् ।