त्तामा साँचो राखेको देखेपछि नेपाली राष्ट्रिय फुटबलर मनिष डाँगीको घरबाट ४५ लाख चोरी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं । फुटबलर मनिष डाँगीको घरमा चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
फागुन ६ मा भएको चोरीमा संलग्न आरोपमा पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका–६ घर भएका अनुप तामाङ, रविन तामाङ र ललितपुरको गोदावरी नगरपालिका–६ घर भएका राजन श्रेष्ठ छन् ।
अनुपको योजनामा फुटबलरको घरमा चोरी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । फुटबलरको घर नजिकै अनुप तामाङको फुपूको घर छ । फुपूको घरमा जाँदा आउँदा अनुपले फुटबलरको घरमा रेकी गरेका हुन् ।
मनिषको परिवारले घर बाहिर जाँदा गमलामा साँचो राखेको अनुपले देख्छन् । फुपूको कुकुर डुलाउन जाँदा र फर्कँदा रेकी गर्ने अनुपले साँचो सधैँ गमलामा राखेको यकिन गरेपछि त्यसबारे रविन तामाङसँग सल्लाह गर्छन् । त्यसपछि दुईजना मिलेर चोरी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
आरोपीहरूले ४५ लाख चोरी गरेको पीडित परिवारले प्रहरीलाई बताएका छन् । चोरीबारे मनिषकी आमा रिता गुरुङ डाँगीले प्रहरीमा जाहेरी दिएकी छन् ।
डाँगी नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य हुन् ।