काठमाडौं । प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित ११ जना पक्राउ परेका छन् । ऋण प्रवाहमा अनियमितता भेटिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले न्यौपाने र बैंकको पूर्व सीईओ तुलसीराम गौतमसहित ११ जना पक्राउ परेको सीआईबी प्रमुख किरण बज्राचार्यले बताइन् ।
तत्कालीन सेन्चुरी कमर्शियल बैंकमा गलत धितो मूल्यांकन गरी ऋण प्रवाह गरेको अभियोगमा दुई बैकरहरु मंगलबार पक्राउ परे। सेन्चुरी बैंकका पूर्व सीईओ रहेका उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कमशल धितोको आधारमा ऋण प्रवाह गरी सर्वसाधरणको रकम हिनामिना गरेको अभियोगमा बैंकिङ कसुरमा अनुसन्धानका लागि पक्राउ गरेको हो।
यसरी पक्राउ पर्नेमा प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने र तुलसी गौतम रहेका रहेका छन्। उनीहरुलाई पक्राउ गर्नुको पछाडी यसअघि नै बैंकिङ कसुरमा पक्राउ परेका देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईको बयान हो।
उनले धितोले नखाम्ने जग्गा राखेर सेन्चुरी कमर्शियल बैंकबाट ऋण लिएको बयान दिएपछि तत्कालीन समयमा सीईओको रुपमा रहेका उनीहरुलाई मंगलबार थप अनुसन्धानका लागि पक्राउ गरेको हो।
उनीहरुसँगै तत्कालीन सेञ्चुरी बैंकका कर्मचारीहरु सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ, सन्ध्या श्रेष्ठ, सविन श्रेष्ठ, दिलीप बराल, सुशील बस्नेत, राजेश भण्डारी, रमण श्रेष्ठ र दिपेश प्रधान पक्राउ परेका छन्।
यीमध्ये ५ जना प्रभु बैंकका बालवाला कर्मचारी हुन्। ८० करोडको धितोमा २ अर्ब ऋण प्रवाह भएको देखिएकाले उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबीले जनाएको छ।