६ महिनामा विद्युत् प्राधिकरणले कमायो १५ अर्ब ३६ करोड नाफा

दियो पोस्ट  

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा कर कटौतीअघिको हो ।

प्राधिकरणको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ अर्ब ४५ करोड रुपैयाँ बढी हो । गत आर्थिक वर्ष २०७९र८० को सोही अवाधिमा प्राधिकरणको नाफा १० अर्ब ९१ करोड ६० लाख रुपैयाँ थियो भने गत आर्थिक वर्ष भरिको खुद नाफा १२ अर्ब ३३ करोड रुपैयाँ थियो ।

प्राधिकरणले सार्वजनिक गरेको चालु आवको ६ महिनाको अपरिस्कृत वित्तीय विवरणअनुसार विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी भएको छ । सो आम्दानीबाट विद्युत् खरिद, प्रशासनिक लगायत खर्च ५१ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ छ ।

आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुबाट निरन्तर नाफामा छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण, आन्तरिक रुपमा तथा भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रण लगायतले गर्दा चालु आवको पहिलो ६ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताए ।

TATA ADD

सिफारिस