काठमाडौँ,माघ १८ । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बिएस राणाको आज बिहान ७९ वर्षको उमेरमा निधन भएको छ । उहाँको उपचारका क्रममा आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको लेखक तथा कलाकार घनश्याम खतिवडाले राससलाई बताए ।
करीब ३० वर्ष बेलायतमा बस्नुभएका राणाले त्यहाँ रहँदा विश्वविख्यात साहित्यका शेक्सपियरका नाटकहरुमा अभिनय गरेका थिए । राणाले विसं २०४१ देखि नेपाली चलचित्रमा पनि अभिनय शुरु गर्नु भई दर्जनौँ चलचित्रमा अभिनय गरेका छन् ।
उहाँले अभिनय गरेका दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छायाँ–२, सेतो बाघ, हबल्दार, सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, दासढुङ्गा, बसन्तीगलगायतका चलचित्र तथा दर्जनौँ टेलिचलचित्रमा अभिनय गरेका छन् ।
काठमाडौँ बूढानीलकण्डका स्थायी बासिन्दा राणा केही समयदेखि ललितपुरको भैँसेपाटीमा बस्दै आउनुभएको थियो । उनको श्रीमती र तीन छोरी छन् । उनको छोराको भने केही वर्षअघि नै निधन भइसकेको हो । (रासस)