धनकुटा, माघ १८ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले गोविन्द केसीको शिक्षा र स्वास्थ्य सम्बन्धी माग जाहेज रहेको बताएका छन् ।
वार्ताको माध्यमद्धारा सरकार र डाक्टर केसी मिल्नुको विकल्प नरहेको पनि संयोजक भट्टराईले बताए । नयाँ शक्तिले गत माघ १५ गतेबाट सुरु गरेको जनसंम्वाद यात्राका क्रममा धनकुटा आई पुगेका संयोजक डा. भट्टराईले पत्रकार भेटघाटमा त्यस्तो बताएका हुन् । उनले कुनै देशको आन्तरिक मामिलामा कसैले हस्तक्षेप गर्न नहुने भन्दै भेनेजुयलाको विषयलाई लिएर ध्रुविकरण हुन नहुने बताए । अहिले दक्षिणपन्थी र बामपन्थी दुईतिर ध्रुवीकृत भएकाले यी दुवै शक्ति सफल नहुने भएकाले त्यसभन्दा माथिबाट उठेर सोच्नु पर्ने बेला आएको डाक्टर भट्टराईको दाबी थियो ।
एक अर्को प्रसंगमा नेता भट्टराइले केन्द्रीयता वादीको हातमा सत्ता रहेकाले संघीयतामा समस्यामा परेको बताए । लोकतन्त्र व्यवहारमा नआएकाले सच्याउने प्रयत्न भईरहेको छ । भट्टराईले भने–‘स्थानीय तह बलियो नभएसम्म लोकतन्त्र आएको भन्न नमिल्ने उनको तर्क थियो ।’ देशमा बढ्दो अनिमितता र भ्रष्टाचारले जनतामा राजनीति प्रति वितृष्णा आएको हुनाले जनसंम्वाद यात्रा चलाएको उनको भनाई थियो । कार्यक्रममा पूर्वमन्त्रीहरु हिसिला यामी, पर्शुराम खापुङ लगायतको सहभागिता थियो ।