काठमाडौँ, माघ २० । नेपालले युएइविरुद्धको टि–ट्वान्टी श्रृंखला जित्दै इतिहास रचेको छ । आइतबार साँझ सम्म भएको खेलमा नेपाल १४ रनले विजयी बन्दै टी–ट्वान्टी सिरिज आफ्नो पक्षमा पार्न सफल भएको हो ।
नेपालले प्रस्तुत गरेको १ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा ब्याटिङ गरेको युएइले पुरा ओभर खेलेर ८ विकेटको क्षतिमा ९० रनमात्रै बनाएपछि खेल नेपालको पक्षमा आएको हो ।
शुरुवाती चरणमा आक्रमक ब्याटिङ गरेको युएइले २ ओभरको अन्तिम सम्म ३४ रन बनाइसकेको थियो । पहिलो ओभर वलीङ गरेेका सन्दीपले २ चौका र १ छक्का सहित २० रन दिए तर विकेट प्राप्त हुन सकेन । दोस्रो ओभरको अन्तिम बलमा सोमपाल कामीले अस्फाख अहमदलाई पवेलियन फर्काए । सोमपालले एक विकेट लिनको लागि १४ रन खर्चिए ।
अस्फाखको विकेटपछि युएइको क्रिजमा आए साइमन अनवर । तेस्रो ओभरमा आएका उनिविरुद्ध नेपालका करण केसी बलिङमा थिए । शुरुवाती दुइबलमा अनवरले रन जोड्न सकेनन् तर करणको तेश्रो बलमा अनवरले छक्का प्रहार गरे । खेलको तेस्रो ओभर सकिँदासम्म युएइले एक विकेटको क्षतिमा ३९ रन बनाइसकेको थियो ।
चौथो ओभरमा बलिङ गर्दै अनिल बोहराले गुलाम शब्बरलाई आउट गरे । चौथो ओभरमा नेपालले ७ रनमात्र खर्चियो । पाँचौ ओभरमा सन्दीप लामिछाने बलिङमा आए । उनको बलिङले मोहम्मद उस्मानलाई पवेलियन फर्कायो । छैठौँ ओभरमा नेपाल विकेटविहिन बन्यो । त्यसपछि सातौँ ओभरमा आएका करण केसीले लगातार २ विकेट लिए । क्रिजमा टिकेर बसेका साइमनलाई करणले आउट गरे । त्यसपछि कप्तान मोहम्मद नाभिद ब्याटिङमा आए तर पहिलो बलमै पवेलियन फर्के ।
शुरुवाति चरणमा आक्रमक खेलेको युएइ विकेट गुमाउँदै गएपछि क्रमशः कमजोर बन्दै गयो । आठौँ ओभरमा अनिल वोहराले थप १ विकेट लिएपछि युएइ पुर्ण रुपमा हतोत्साहित बनेको थियो । अन्तिम ओभरमा नेपालले २ विकेट लियो । अन्तिम ओभरमा आएका ललितनारायण राजवंशीको बलिङमा अमिर हायत र रिजवान आउट भएपछि नेपाल १४ रनले विजयी भएको हो ।
टस हारेर ब्याङिको निम्तो पाएको नेपालले निर्धारित १० ओभर खेल्दै १ सय ५ रन बनाएको थियो । छोटो ओभरको खेल भएका कारण नेपालले सामान्य ढंगबाट दबावमुक्त भई प्रदर्शन गरेको थियो । मौसमको कारण २० ओभरको खेललाई १० ओभरमा झारिएको थियो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २९ रन बनाए । उनले १४ बलमा ४ चौका र १ छक्का हिर्काए । त्यस्तै सन्दीप जोराले २८ रन बनाए । उनलाई मोहम्मद नाभीदले आउट गरे। विनोद भण्डारीले २१ रन बनाउँदा उपकप्तान ज्ञानेन्द्र मल्लले ११ रनमात्र बनाए । त्यस्तै करण केसीले १० रनमात्र बनाए । पवन सर्राफ, सोमपाल कामी र सन्दीप लामिछानेले शुन्य रन बनाए ।
युएइबाट मोहम्मद नाभिद र सुल्तान अहमदले २ २ विकेट लिए भने अमिर हायत, जाहुर खान र मोहम्मद बुताले एक एक विकेट लिए ।
आजको सफलता संगै नेपालले अन्तराष्ट्रिय टि–ट्वान्टी सिरिजमा पहिलो जित दर्ता गरेको छ भने एकदिवसिय र टी–ट्वान्टी सिरिज दुबैमा जित हाँसिल गर्दै किर्तिमान कायम गरेको छ ।