सुर्खेत अख्तियारमा ६२१ उजुरी

Diyo post  

सुर्खेत, माघ २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा ६ महीनामा ६२१ उजुरी परेको छ । चालू आव २०७५/७६ को पुस मसान्तसम्ममा कूल ६२१ उजुरीमध्ये १६८ मुद्दा फछ्र्यौट गरिएको छ । 

चार सय ५३ उजुरीबारे अध्ययन अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिनुभयो । सङ्घीय मामिलाअन्तर्गत १८८ उजुरी परेकामा ५१ फछ्र्यौट तथा १३७ बाँकी छ । शिक्षा सम्बन्धि १८०, वन तथा वातावरणतर्फ ५८, ऊर्जा, जलस्रोत र सिँचाइका ५१, स्वास्थ्य तथा जनसङ्ख्याका ३९ र भौतिक पूर्वाधार तथा यातायात सम्बन्धि २९ उजुरी परेको सापकोटाले बताए ।

त्यसैगरी खानेपानी सम्बन्धि २०, कृषि तथा पशुपक्षी विकासमा १३, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमा १४, गृहतर्फ १०, शहरी विकासमा सात, उद्योग, वाणिज्य तथा आपूर्तितर्फ पाँच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनतर्फ तीन, सञ्चार तथा सूचना प्रविधितर्फ तीन तथा युवा तथा खेलकूद सम्बन्धि एउटा उजुरी परेको छ । जिल्लागत तथ्याङ्कअनुसार सुर्खेतबाट १३७, दैलेखबाट १०८, जाजरकोटबाट ८७, कालीकोटबाट ७०, जुम्लाबाट ४८, हुम्लाबाट ४२, रुकुम पश्चिमबाट ४०, सल्यानबाट ४३, मुगुबाट ३१ तथा डोल्पाबाट ११ उजुरी परेको सापकोटाले बताए ।

शङ्का, रिसइवी र राजनीतिक पूर्वाग्रहका आधारमा पनि उजुरी पर्ने गरेको छ । उजुरी परे पनि तथ्य सावित गर्ने खालका प्रमाण नजुट्दा अनुसन्धानमा समस्या भएको सापकोटा बताउनुहुन्छ । चैत, वैशाख, जेठ र असारमा अत्यधिक उजुरी पर्ने गरेको छ । 

सम्बन्धित खबर