कारागार अब औद्योगिक क्षेत्रका रुपमा विकास हुदैँ

Diyo post  

पशुपतिनगर, माघ २२ । कैदीले पाएको सीपबाट इलाम कारागार अहिले बाँस, ढाका र काठका फर्निचर निर्माण गर्ने उद्योगको रुपमा विकास भएको छ ।

कैदी–बन्दीलाई कारागारमा बस्दा पीडा अनुभव गर्नेभन्दा पनि सुधारिएर समाजमा पुनःस्थापना गराउने उद्देश्यले सीपमूलक तालीम दिइएकाले कारागार उद्योगको रुपमा विकास भएको हो । दुईसय एकाउन्न कैदी रहेको यस कारागारमा फर्निचर, बाँसका सामग्री, ढाका र घर सजावटका सामग्री बनाउने तालीम दिएपछि उद्योगजस्तै बनेको कारागार प्रशासन प्रमुख भक्तबहादुर खड्काले बताए ।

कारागारका ४० कैदीले बाँसका फर्निचर, २० ले काठको फर्निचर, ६० भन्दा बढीले ढाका कपडा र बाँकीले घर सजावटका सामग्री उत्पादन गरी बजारमा बिक्री गर्दै आएका छन् । कैदीले उत्पादन गरेको सामग्री बिक्रीमा समस्या आएमा कारागार प्रशासनले सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

कैदीले काठका बेड, लो बेड, कुर्सी, पलङ, सोफा, बाँसका फर्निचर, मुडा, राउण्ड टेवल, ढाका र घर सजावटका सामग्री उत्पादन गर्दै आएका छन् । कैदीलाई घरेलु तथा साना उद्योग विकास समिति तथा स्थानीय सङ्घसंस्थाले सीप प्रदान गर्नाका साथै प्राविधिक र आर्थिक सहयोग समेत गर्दै आएका छन् ।

पछिल्लो पटक धनुकटाबाट बाँसको फर्निचर बनाउने शिक्षक बोलाएर तालीम प्रदान गर्दै आएको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख सत्यनारायण राईले बताए । जिल्लामा बाँस प्रसस्त पाइने भएकाले कैदीलाई रोजगार प्रदान गर्ने उद्देश्यले सो तालीम प्रदान गरिएको हो ।(रासस)

सम्बन्धित खबर