दियोपोस्ट संवाददाता
धादिङ, २४ माघ । धादिङको सदरमुकाम धादिङवेशीमा रहेको जिल्ला कारागार भित्र कारागार प्रमुखको लापरबाहीका कारण मदिरा समेत भित्रीने गरेको पाइएको छ ।
कारागारका निमित्त प्रमुख मदन कुमार श्रेष्ठ र चौकीदार टोक बहादुर तामाङको मिलेमातोमा जेल भित्र रहेका कैदीले धादिङको पुछारबजार स्थित एक होटलमा श्रीमतीसँग रात विताएको समेत खुलाशा भएको छ ।
स्रोतका अनुसार जबरजस्ती करणीको अयोगमा करागारमा सजाय भोगीरहेका प्रेम तामाङले केही महिनाअघि पुछारबजार स्थित त्रिपुरा सुन्दरी होटलमा श्रीमतीसँग रात विताएका थिए ।
‘प्रेम तामाङबाट निमित्त जेलर मदन कुमार श्रेष्ठ र चौकीदार टोक बहादुर तामाङले ३० हजार रुपैयाँ घुस लिएर होटलमा श्रीमती भेट्न पठाए,’ कारागारमै रहेका एक कैदीले दियोपोस्टसँग भने,‘युवती भेट्न जान समेत चौकीदार र जेलर सरले पैसाको रेट तोक्नु भएको छ ।’
कारागार भित्रका कैदीका अनुसार कारागार भित्र प्रहरीसँगको मिलेमतोमा मदिरा समेत खुलेआम विक्री हुने गरेको छ । ती कैदीका अनुसार बजारबाट ल्याएको भन्दा निकै महँगो मुल्यमा मदिरा विक्री हुने गरेको छ ।
कर्तव्य ज्यान मुद्दामा जेल परेका चौकीदार टोक बहादुर तामाङ र निमित्त जेलर मदन कुमार श्रेष्ठले आर्थिक लाभ लिएर मदिरा बेच्ने गरेको ती कैदीले बताए ।
‘एक क्वाटर रोयल स्ट्यागको १ हजार रुपैयाँ लिने गरिएको छ । फूल नै खानु परेको खण्डमा ५ हजार रुपैयाँ तिनुपर्छ,’ ती कैदीले भने,‘मदिरा भित्र ल्याउन मिल्दैन तर खुलेआम मदिरा विक्री हुन्छ ।’
महँगो मदिराको विषयमा प्रश्न गर्ने कैदीलाई भने भित्र रहेको ‘गार्ड रुम’मा यातना दिइने, कुटपीट गर्ने गरेको ती कैदीले दियोपोस्टलाई बताए ।
कैदीले आफूलाई घर पायक पर्ने ठाउँमा जान पाउने कानुनी प्रावधान रहेता पनि जेलर र चौकीदारले कैदीले लेखेको निवेदनलाई माथि सिफारिस गर्नुको सट्टा ‘पैसाको बार्गेनिङ गर्ने गरेको’ समेत उनले बताए ।
‘उनीहरुले ३० देखि ५० हजारसम्म नपाएसम्म कैदीको निवेदनलाई सिफारिस नगर्ने गरेका छन्,’ उनले भने,‘हरेक कैदीले राज्यबाट पाउनुपर्ने उपचार खर्च पाउँदैनन् । आफ्नो उपचार आफै गरेका छौँ । हाम्रो उपचारको बिल अनुसारको भुक्तानी चौकीदार र जेलर सरले जफत गर्ने गर्नु भएको छ ।’
धादिङको जेलमा घर पायक पारेर आउने कैदीलाई समेत चौकीदार र जेलरले पैसा उठाउने गरेको उनको आरोप छ ।
नाइके बन्न घुसको रेट,‘५० हजारदेखि १ लाख’ !
कैदीबन्दीका अनुसार जिल्ला कारागारमा नाइके बन्नका लागि ठूलो आर्थिक लेनदेन हुने गरेको छ ।
‘दाई नाइके बन्नका लागि जेलर र चौकीदारलाई ५० हजारदेखि १ लाखसम्म बुझाउनुपर्छ । भाई नाइके बन्नका लागि १५ हजारदेखि ३० हजारसम्म बुझाउनुपर्छ,’ कैदीले भने,‘जबरजस्ती करणीको अभियोगमा जेलमा रहेका धनराज श्रेष्ठले १५ हजार तिरेर भाई नाइके भएका छन् । अर्का रामबहादुर तामाङले पनि १५ हजार तिरेका छन् ।’
उनका अनुसार धादिङ करागारमा २ सय ४८ जना कैदी रहेका छन् । जसमा १८ जना भाई नाइके रहेका छन् ।
कारागार भित्र खेल खेल्न निशुल्क पाइने भएता पनि धादिङ कारागारमा भने कैदीले प्रति खेल पैसा तिर्ने गरेका छन् ।
‘भलिबल खेलेको एक गेममा २० रुपैयाँ तिर्नुपर्छ । क्यारिमबोर्ड खेल्दा प्रति बोर्ड ८० रुपैयाँ सम्म तिर्नुपर्छ,’ कैदी भन्छन्,‘पुल खेल्दा एक घण्टामा १ सय २० रुपैयाँ तिर्नुपर्छ ।’
उनका अनुसार यस्ता रकम समेत चौकिदार र जेलरले मिलेर बाँडचुँढ गर्ने गरेका छन् ।
कैदीको भत्ता समेत जेलर र चौकीदारको खल्तीमा
कैदीहरुले पाउने दैनिक भत्ता समेत कारागार प्रमुख श्रेष्ठ र चौकिदार तामाङले खल्तीमा हाल्ने गरेको ती कैदीको बयान छ ।
‘दैनिक भत्ता ६० रुपैयाँ समेत पाएका छैनौँ । हरेक जेलका कैदीले महिना पुगेपछि दैनिक भत्ता पाउने गरेका छन् । तर, यहाँको भत्ता चौकिदार र जेलरले खल्तीमा हाल्ने गरेका छन्,’ ती कैदीको बयान छ,‘टेलिफोनमा समेत ठूला र सानाबीच विभेद छ । ठूला मान्छे लाईनमा बस्नु पर्दैन । तर, साना पहुँच नभएकाले भने ३ घण्टा लाइन बस्दा पनि पालो आउँदैन । प्रति मिनेट ५ रुपैयाँ लिने गरिन्छ । यो असाध्यै महँगो हो ।’
नयाँ कार्यविधि अनुसार एक वर्षभन्दा बढी चौकीदार बन्न नपाउने भएपनि तामाङ १८ महिनादेखि चौकीदार मै आसिन छन् ।
निमित्त जेलर भन्छन्,–‘भेटेर कुरा गरौँ’
जिल्ला कारागार धादिङमा प्रमुखको रुपमा रामसुन्दर शर्मा कार्यरत हुनुपर्ने हो । तर, उनी अधिकांश समय कार्यालयमा हुँदैनन् । कारागारको सबै जिम्मा लिएका छन् नायब सुब्बा तहका कर्मचारी मदन कुमार श्रेष्ठले ।
कारागार भित्र यतिसम्मको लापरबाही छ की कैदीवन्दीले दिसाब पिसाब नियन्त्रण नहुँदा जिल्ला सदरमुकाम नै दुर्गन्धित भईरहेको छ । यद्धपी निमित्त जेलर श्रेष्ठ भने कारागारमा त्यस्तो नभएको बताउँछन् । ‘यो सबै कुरा फोनमा भन्न मिल्दैन । तपाईं मलाई भेट्न आउनुसु,’ श्रेष्ठले भने ।