काठमाडौँ,माघ २४ । काठमाडौं महानगरपालिकाले पुरातत्व विभागको अनुमति लिएर मात्रै पशुपति क्षेत्र भित्र रहेको सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाउन पशुपति क्षेत्र विकास कोषलाई सचेत गराएको छ ।
काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले पशुपति क्षेत्र भित्र रहेको विश्वरुपा मन्दिरको संरक्षणमा अझै चासो नदिएको भन्दै पशुपति क्षेत्र विकास कोषको कामकार्वाहीप्रति असन्तुष्टि पनि जनाए । उनले पशुपतिनाथको मृगस्थलीमा रहेको विश्वरुपा मन्दिर वरपरको संरचना पूरानै सामग्री प्रयोग गरेर मात्रै बनाउन पनि सचेत गराए ।
बिहीबार विहान सो क्षेत्रको अवलोकन गरेपछि उहाँले संचारकर्मीमाझ सिमेन्ट र रड राखेर जथाभावी खाल्डो खनि त्यहाँको संरचना निर्माण गर्न लागेकोमा आपत्ति जनाउँदै पूरानै सामग्री प्रयोग गरेर सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाउन कोषको गम्भिर ध्यानाकर्षण गराए । पशुपति क्षेत्र विकास कोषले पूरातत्व विभागसँग स्विकृति लिएर तथा स्थानीय सरकारसँग समन्वय गरेर सम्पदाहरुको पुनर्निर्माणको काम अघि नबढाएकोमा उपमेयर खड्गीको आपत्ति छ ।
उपमेयर खडगीले यस अघि पनि सो क्षेत्रको अवलोकन गरी विश्व सम्पदा सूचिमा परेका विश्वरुपा मन्दिरको संरक्षणका लागि आवश्यक व्यवस्था गर्न पशुपति क्षेत्र विकास कोषलाई आग्रह गर्नु भएको थियो । तर त्यसको सुनुवाई कोषबाट नभएको उपमेयर खड्गीको गुनासो छ ।
सम्पदा प्रेमीहरुसहित सो क्षेत्रको स्थलगत अवलोकनमा पुग्नु भएकी उपमेयर खड्गीले भूकम्प गएको ४ वर्ष पुग्न लाग्दा पनि पशुपति क्षेत्र विकास कोषले विश्वरुपा मन्दिरको संरक्षण गर्न नसकेको, सम्पदाहरुको पुनर्निर्माण गर्दा त्यसको मौलिक तथा सांस्कृतिक पहिचानमा ध्यान दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।