
Picture of exiled Muslim leader Ayatollah Khomeini overshadows huge anti-Shah demonstration at the Shayah monument commemorating 25 years of the monarch's rule and symbol of his power, Dec. 10, 1978, in Tehran. An estimated one million people filed peacefully through the city chanting support for their spiritual leader, and calling for the end of the Shah's rule. (AP Photo/Michel Lipchitz)
तेहरान,माघ २५ । इस्लामिक क्रान्तिको ४०औं वार्षिकोत्सवका अवसरमा इरानमा विविध कार्यक्रमसहित भव्य रुपमा मनाइने भएको छ । संयुक्तराज्य अमेरिकासँगको तनाब बढेको तथा आर्थिक मन्दी झेलिरहेको इरानले सोमबार वार्षिकोत्सव मनाउन लागेको हो ।
चालीस वर्षअघि फेब्रुअरी ११ का दिन इरानी क्रान्तिकारीहरुले तेहरानको आजादी ९स्वतन्त्रता० चोकबाट निकालेको जुलुसले अन्ततः इरानी राजतन्त्रलाई सदाका लागि बिदा गरेको थियो । त्यही दिन फ्रान्समा निर्वासित क्रान्तिकारी नेता आयातोल्लाह रोहल्लाह खोमेनी स्वदेश फर्कनुभएको थियो ।
चालीसौं वार्षिकोत्सवका अवसरमा राष्ट्रपति हसन रौहानीले तेहरानमा आयोजना हुने भव्य समारोहमा सम्बोधन गर्नुहुनेछ ।
इरानमा इस्लामिक परम्परा अनुसार ४० वर्षलाई परिपक्व भएको रुपमा लिने गरिन्छ । यही उमेरमा धर्मगुरु मोहम्मदले इश्वरीय आशिर्वचन प्राप्त गर्नुभएको थियो ।
फेब्रुअरी १ देखि नै विविध कार्यक्रम चलिरहे पनि आधुनिक इस्लामिक गणतन्त्र इरानले चर्को आर्थिक चुनौतीको सामना गर्नु परिरहेको छ । इरानभित्रै समस्या उत्पन्न भएको र अमेरिकी प्रतिबन्ध पनि चालू रहेकाले इरानको आर्थिक परिदृश्य निकै जटिल मोडमा पुगेको छ ।
अमेरिकी डलरको तुलनामा इरानी रियालको तीव्र अवमूल्यन भएको छ भने सामानको चर्को मूल्यवृद्धि भएको छ । अमेरिकी प्रतिबन्धका कारण विदेशी लगानी रोकिएको तथा इरानले सीमित मात्र तेल बिक्री गर्न पाएको छ ।
इरानमा वातावरणीय सङ्कट पनि उत्पन्न भएको छ । इरानमा वायू प्रदुषण, भूक्षय, खडेरी र मरुभूमिकरण बढेको छ ।
इरानले विगत ४० वर्षमा धेरै क्षेत्रमा निकै प्रगति गरेको हो, इरानका वातावरण निकायका प्रमुख इसा कालान्तरीले बताउनुभयो । उहाँले इरानले खासगरी स्वास्थ्य, उद्योग, सेवा र शिक्षाका क्षेत्रमा निकै प्रगति गरेको जानकारी दिनुभयो ।
सैनिक क्षमतामा भएको प्रगतिलाई इरानले सधैँ गर्व गर्ने गर्दछ । वार्षिकोत्सवको अवसर पारेर तेहरानमा दुईवटा हातहतियार प्रदर्शनी गरिएका छन् । यी प्रदर्शनीमा इरानले विकास गरेका आधुनिक हातहतियार राखिएका थिए । प्रदर्शनीमा इरानमै निर्मित क्रुज क्षेप्यास्त्र राखिएको थियो जसलाई इरानले सफलतापूर्वक परीक्षण गरेको बताइएको छ ।
संयुक्तराज्य अमेरिका र यसका गठबन्धन राष्ट्रहरुले इरानको उक्त क्षेप्यास्त्र कार्यक्रमप्रति आपत्ति जनाउँदै आएका छन् । इरानको यस गतिविधिले सम्पूर्ण मध्यपूर्वमा सङ्कट निम्त्याउने पश्चिमा मुलुकहरुको भनाइ छ । तर इरानले आफ्नो हतियार निर्माण कार्यक्रम विशुद्ध आफ्नो मुलुकको प्रतिरक्षाका लागि रहेको दाबी गर्दै आएको छ ।
प्रविधि क्षेत्रमा निकै फड्को मारेको इरानले गत महिना पायाम नाम गरेको भूउपग्रह प्रक्षेपण गरेको थियो, तर यो अन्तरिक्षमा पुग्न असफल भएको थियो । इरानले अर्को अझ उन्नत भूउपग्रह निर्माण गरेको र ४०औं वार्षिकोत्सवकै सेरोफेरोमा त्यसलाई सफलतापूर्वक प्रक्षेपण गरिने अनुमान गरिएको छ ।
इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले यस वर्षको वार्षिक समारोहमा ठूलो संख्यामा कैदीबन्दीलाई मुक्त गर्ने राज्य सञ्चालित टेलिभिजनले जनाएको छ । न्यायपालिकाका प्रमुख साडेघ आमोली लारिजानीका अनुसार करिब ५० हजार कैदीबन्दीलाई मुक्त गरिनेछ ।
इरानले मार्च २०१७ मा करिब २ लाख १७ हजारलाई थुनामा पठाएको थियो । (रासस/एएफपी)