पोखरा महानगरपालिकामा अपाङ्गता परिचयपत्र वितरण कार्य शुरु

दियोपोस्ट संवाददाता

चिप्लेढुङ्गा, माघ २९ । पोखरा महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गर्ने कार्य शुरु गरेको छ ।

महागनरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले वडा नम्बर २३ का पुष्करराज उपाध्यायलाई पूर्ण अपाङताको (रातो) पचिरयपत्र प्रदान गरी आज सो कार्यक्रमको शुभारम्भ गरिएको हो ।

महिला तथा बालबालिका कार्यालय महानगरपालिका मातहतमा आएपछि अपाङ्गता भएका व्यक्तिलाई पहिलो पटक परिचयपत्र वितरण शुरु गरेको हो । प्रक्रिया पुगेर आएका निवेदन, शारीरिक अवस्था, अस्पतालले दिएको सिफारिस र परिचयपत्रका आधारमा परिचयपत्र वितरण गरिएको छ ।

पुर्ण रुपमा अपांगता भएका व्यक्तिलाई महानगर आउन असहज हुने भएकोले उनिहरुको सहजताका लागि महानगरले ‘क’ र ‘ख’ वर्गको परिचयपत्र वडा तहमै पुगेर बाँढ्ने व्यवस्था गरेको छ ।

अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५ पारित गरेलगत्तै महानगरले उपप्रमुख गुरुङको संयोजकत्वमा अपाङ्गता परिचयपत्र वितरण समन्वय समिति गठन गरेको थियो ।

अपाङ्गता परिचयपत्र लिनका लागि वडा कार्यालयको सिफारिस पत्र, सम्बन्धित स्वास्थ्य संस्थाको सिफारिस पत्र, जन्मदर्ता, नागरिकता प्रमाणपत्रको प्रतिलिपि र फोटोसहित महानगरपालिकाको सामाजिक विकास महाशाखामा निवेदन पेश गर्नुपर्ने व्यवस्था छ ।

पेश भएका निवेदन उपर प्रत्येक महीनाको अन्तिम सोमबार छलफल गरी अपाङ्गता भएका व्यक्तिको उपस्थितिमा परिचयपत्र वितरण गर्ने निर्णय भएसँगै अब प्रत्येक महीनाको अन्तिम सोमबार परिचयपत्र वितरण हुनेछ ।

सरकारले अपाङ्गतालाई चार समूहमा विभाजन गरी फरक÷फरक रङ्गको परिचयपत्र वितरण गर्ने व्यवस्था गरेको छ । जसअनुसार पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिले रातो, अति अशक्त अपाङ्गता भएका व्यक्तिले निलो, मध्यम अपाङ्गता भएका व्यक्तिले पहँेलो र सामान्य अपाङ्गता भएका व्यक्तिले सेतो रङ्गको परिचयपत्र प्राप्त गर्ने छन् ।

सम्बन्धित खबर

सिफारिस