ट्राभलर एसिस्टको ‘धन्दामा’ नेपाली व्यापारीको साथ : समिट हेलिका मालिकमाथि छानबीन होला ?

दियोपोस्ट संवाददाता


काठमाडौं, २९ माघ । नेपालको बद्नाम गरेर आफ्नो व्यावसाय प्रवद्र्धन गर्न लागि परेको ट्राभलर एसिस्टलाई नेपालकै केही व्यापारिक घरानाले सहयोग गरेको पाइएको छ ।


ट्राभलर एसिस्टले दियोपोस्टलाई पठाएको इमेल अनुसार समिट हेलिले ट्राभलर एसिस्टको रेस्क्यु संयोजन गर्दै आएको छ ।


कुनै समय फिस्टेल एअरको नामले चिनिएको उक्त कम्पनि अत्याधिक दुर्घटना भएपछि बद्नाम बनेको थियो । बद्नामी भएपछि व्यापारिक रुपमा समेत टाट पल्टिएको फिस्टेल एअरले आफ्नो नाम परिवर्तन गर्दै समिट एअर बनाएको थियो ।


सरकारले नेपाल घुम्न आउने पदयात्री पर्यटकको विरामी उद्दारका क्रममा हुने ठगीधन्दाको छानबीन थालेपछि उक्त समिट एअरले पनि व्यापारिक दाउपेच थालेको पाइएको छ ।


बेलायतमा मुख्यालय रहेको ट्राभलर एसिस्टसँगको मिलेमतोमा नेपालको बद्नामी गर्दै आफ्नो स्वार्थ पूर्ति गर्नका लागि समिट हेलिका पदाधिकारी लागि परेको स्रोतको दाबी छ ।


स्रोतका अनुसार समिट हेलिका अध्यक्ष विकास राणा, निर्देशक सुमन पाण्डे र समिट समिट ट्रुपर्स एण्ड एक्सपेडिसनका जय राणाले नेपालको बद्नामी गरेर आफ्नो धन्दा प्रचार गरिरहेका छन् ।
जय राणाका पिता मनोहर राणा, विकास राणा र सुमन पाण्डेको स्वामित्वमा रहेको एक्सप्लोर हिमालय ट्राभल समेत यतिबेला विवादमा आएको छ ।


ट्राभलर एसिस्ट नेपालका व्यावसायीलाई ‘आफुहरुसँग व्यापारिक सम्झौता गरे सरकारले गरेको कारबाहीबाट जोगाइदिन्छु’ भन्दै विभिन्न पर्यटन व्यावसायीलाई पत्र पठाउँदै आएको छ ।
‘ट्राभलर एसिस्टले जय राणालाई हेलिकोप्टर उडानको संयोजन गराउने व्यक्तिको रुपमा प्रयोग गर्दै आएको छ समिट हेलि मार्फत,’ इमेलमा भनिएको छ ।


जय राणाको स्वामित्वमा रहेको समिट रेस्क्यु कम्पनि दर्ता बिना नै सञ्चालनमा रहेको पाइएको छ । कम्पनि रजिष्टार कार्यालयका अनुसार उक्त रेस्क्यु कम्पनि दर्ता नै छैन ।


राणाले ट्रेकिङ कम्पनि दर्ता गरेर रेस्क्युको काम गर्दै आएका छन् ।


शंकाको घेरामा इमेल


पर्यटन व्यावसायीलाई ‘आफुहरुसँग व्यापार गर्न’ भन्दै चेतावनीपूर्वक गरिएको इमेल समेत शंकाको घेरामा परेको छ । ट्राभल एसिस्टका ड्यानी केन र जोनाथन बेनक्रोफ्टको नाममा पठाइएको इमेल समेत नेपाली समिट हेलिकोप्टरकै पदाधिकारीको मिलेमतोमा पठाइएको हुन सक्ने आशंका बढेको छ ।


‘नेपाली व्यावसायीका बारेमा ट्राभलर एसिस्टले त्यति धेरै थाहा विज्ञता हासिल गर्न सक्ने अवस्था छैन,’ एक पर्यटन व्यावसायी भन्छन्,‘मलाई लाग्छ मिडियामा दुष्प्रचार गर्ने र यहाँ हामीलाई इमेल गर्ने नेपाली नै हुनुपर्छ । उनीहरुले ट्राभलर एसिस्टको लोगो प्रयोग गरेर यहाँको सरकार र व्यावसायीलाई आतंक मच्चाएको हुनसक्छ ।’


सिआइबीका प्रवक्ता भन्छन्,‘अनुसन्धान गर्छौैं’


फर्जि उद्दारलाई दुष्प्रचार गरेर आफ्नो व्यापारिक फाइदा लिने गिरोहलाई अनुसन्धान गर्ने सिआइबीका प्रवक्ता प्रहरी उपरिक्षक उमा प्रसाद चतुर्वेदीले बताए । ‘सरकारको अनुसन्धानलाई म्यानुपुलेट गर्ने र आफ्नो व्यापारिक फाइदा लिने जो कोहीलाई पनि हामी अनुसन्धानको दायरामा ल्याउँछौँ,’ संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने,‘हामी फर्जि उद्दारको अनुसन्धानकै क्रममा छौँ ।’

सम्बन्धित खबर

सिफारिस