
नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य ‘किरणले जनयुद्धले गम्भीर धक्का खाएपनि क्रान्तिको उर्जा खेर नगएको बताएका छन् । जनयुद्ध दिवसको अवसरमा वक्तव्य निकालेर महासचिव बैद्यले जनयुद्धमा जनताले गरेको त्याग र बलिदान खेर नगएको बताएका हुन्।
जनयुद्धले गम्भीर धक्का खाए पनि जनताको त्याग र बलिदानले भावी क्रान्तिको लागि ऊर्जा प्रदान गरेको उनले विज्ञप्ती मार्फत भनेका छन् ।
नेपालमा सञ्चालित महान् जनयुद्धले गम्भीर धक्का खाए पनि जनताका त्याग, वीरता र बलिदानका उत्कृष्ट मूल्यहरु खेर नगएको भन्दै उनले भावी क्रान्तिका निम्ति अनन्त ऊर्जा प्रदान गरेको बताए । विज्ञप्तीमा भनिएको छ, ‘जनयुद्धका तत्कालीन नेतृत्वको एउटा हिस्साले संशोधनवाद हुँदै पश्चगमनको बाटो पकडे पनि सच्चा क्रान्तिकारी कम्युनिस्टहरुद्वारा क्रान्तिको प्रक्रियालाई निरन्तर जारी राखिएको छ ।’
नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवादको सर्वोच्च आदर्श प्राप्तिको दिशामा निरन्तर अगाडि बढ्ने उनले बताएका छन् ।