
काठमाडौँ,फागुन २ । सरकारले शारिरीक सुगठनका लागि विश्वविजेत खेलाडी महेश्वर महर्जनलाई पाँच लाख पुरस्कार प्रदान गर्ने भएको छ ।
गत सोमबार बसेको मन्त्रीपरिषद बैठकले राष्ट्रिय क्रिकेट खेलाडीलाई पनि जनही ५ लाख नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । त्यसैगरी क्रिकेट टोलीका प्रमुख प्रशिक्षकलाई ३ लाख र अरुलाई २ लाख नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय पनि गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिनु भयो । बिहीबार नियमित पत्रकार सम्मेलनमा उहाँले साग फुटबल टोलीका सदस्यहरुलाई पूर्व घोषणा अनुसार जनही ३ लाख दिने निर्णय पनि गरिएको बताए ।
सरकारले नेपाल दुर संचार प्राधिकरणको कार्यबहाक अध्यक्षको जिम्मेवारी वरिष्ठ निर्देशक पुरुषोत्तम खनाललाई दिएको छ । त्यसैगरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धमा सुवाष सिटौलालाई नियुक्त गर्ने निर्णय पनि गरिएको सरकारका प्रवक्ता बास्कोटाले बताए । मन्त्रीपरिषद बैठकले बजेट कार्यान्वयनमा देखिएको समस्या तत्काल समाधान गर्ने निर्णय पनि गरेको छ । नेपाल सरकार र संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन बीच सम्पन्न मिलेनियम च्यालेन्ज कम्प्याक्ट परियोजना अनुमोदनका लागि संघीय संसदमा पेश गर्ने निर्णय पनि मन्त्रीपरिषद बैठकले गरेको छ । सो परियोजनाका लागि अमेरिकाले नेपालाई ५ सय मिलियन डलर अनुदान सहायता उपलब्ध गराएको छ । अमेरिकाको सिनेटबाट नेपाललाई सो आर्थिक सहायता उपलब्ध गराउने निर्णय संघीय संसदबाट अनुमोदन गराउने निर्णय नेपाल सरकारले पनि गरेको प्रवक्ता बास्कोटाले स्पष्ट पारे ।
त्यसैगरी मन्त्रीपरिषद बैठकले अध्यगमन नियमावली, २०५१ को अनुसूचि ११ संशोधन गर्ने निर्णय पनि गरेको छ । पदयात्रीहरुको सुरक्षालाई ध्यानमा राखेर सरकारले सो सम्बन्धि नियमावली संशोधन गर्ने निर्णय गरेको पनि सरकारका प्रवक्ता बास्कोटाले बताए । लागू औषध प्रयोगकर्ताहरुको उपचार तथा पुर्नस्थापना केन्द्र संचालन निर्देशिका २०७५ स्विकृत पनि सरकारले गरेको छ । नेपाली सेनाका ५ जना सहायक रथीलाई उपरथीमा बढुवा गर्ने निर्णय पनि गरिएको छ । सरकारले ‘राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५’ संघीय संसदमा पेश गर्ने निर्णय पनि गरेको छ ।