काठमाडौँ,फागुन ४ । पश्चिमी वायुको प्रभावले आज देशभर मौसम बदली हुनुका साथै मध्यपहाडी भू–भागका केही स्थानमा छिटफुट वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावले भारी वर्षाको सम्भावना नरहे पनि छिटफुट र मध्यमखालको वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् समिर श्रेष्ठले बताए । ‘‘अझै एक÷दुई दिन मौसम पूर्णरुपमा खुल्ने छैन र घाम पनि खासै लाग्ने छैन’’ श्रेष्ठले बताए । काठमाडौँ उपत्यकामा आज हल्का वर्षा भएको छ ।
बुधबार बेलुका सुदूरपश्चिम भित्रिएको न्यून चापीय प्रणालीको प्रभावले बिहीबारदेखि नै पश्चिमी भेगको मौसम प्रभावित बनाएको छ । आज राति देशको पश्चिमी र मध्य भूभागमा आंशिक बदली रही मध्यपहाडी क्षेत्रका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ ।
त्यस्तै भोलि आइतबार देशको पूर्वी तथा मध्यपहाडी भू–भागमा आंशिक बदली हुनाका साथै बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । सोमबार पश्चिमी भू–भागलगायत पूर्वी तथा मध्यपहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ अधिकमत तापक्रम २१ दशमलव ७ डिग्री र न्यूनतम तापक्रम ८ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २५ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । (रासस)