
काठमाडौँ, फागुन १२ । हरेक बर्षको फागुन ११ गते मनाइने मजदुर बलिदान दिवस धादिङमा विशेष कार्यक्रम गरि मनाइएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रिय कार्यसमितिले वेनिघाट रोराङ गाउँपालिकास्थित विशालटारमा एक कार्यक्रम गरि मजदुर वलिदान दिवस मनाएको हो ।
कार्यक्रममा कालिकोटको कोटबाडामा ज्यान गुमाउने तात्कालिन मजदुर शहिदहरुका परिवारलाई सम्मान गरिएको छ । वि.स २०५८ सालमा कालिकोटको कोटवाडा विमानस्थल निर्माण गर्दैै गर्दा तात्कालिन शाही सेनाको आक्रमणमा परि ज्यान गुमाएका मजदुर तथा तात्कालिन जनयुद्धमा ज्यान गुमाएका योद्धाहरुको सम्झनामा मजदुर बलिदान दिवस मनाइएको प्रदेश तिनका सांसद तथा महासंघका महासचिव जगत सिंखडाले बताएका छन् । कार्यक्रममा मजदुर शहिदका परिवारलाई जनही एक÷एक हजार र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रदेश सभाका सांसद सिंखडाले शहिदहरुको बलिदानकै कारण देशमा धर्मनिरपेक्षता, लोकतन्त्र, गणतन्त्र, समानुपातिक सहभागिता, समावेशी हुँदै राजनीतिक स्थायित्व सुनिश्चित भएको बताए । उनले हालसम्म प्राप्ती भएका सबै कुराहरु शहिदकै वलिदानका उपज भएको बताए । शहिदहरुको सबै सपना साकार नभएको र सपनालाई साकार पार्नका लागि आफु सँधै लागिरहने बताउँदै सम्पुर्ण जनताले समेत शहिदका सपनाहरुलाई साकार पार्नका लागि आफ्नो आफ्नो ठाउँबाट लागि पर्नुपर्ने बताए ।

कार्यक्रममा प्रतिनिधि सभातर्फका सांसद भूमी त्रिपाठी प्रमुख अतिथि थिए भने महासंघका उपाध्यक्ष सोम बहादुर थापा, सचिवालय सदस्य भेषराज दाहाल, शिव पोखरेल, केन्द्रीय सदस्य रामचन्द्र ढुङ्गाना, बेनिघाट रोराङ गाउँपालिका प्रमुख हरि डल्लाकोटी, महासंघका जिल्ला अध्यक्ष साथै कोटबाडाका सहिद परिवार र उनीहरूका आफन्तजनको विशेष आतिथ्यता एवम् उपस्थिति रहेको थियो ।