डोनाल्ड ट्रम्पविरुद्ध महाभियोगको सुनवाइ, सिनेटद्वारा सफाइ

दियो पोस्ट  

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोगको सुनवाइमा अमेरिकी सिनेटले उनलाई सफाइ दिएको छ । योसँगै उनलाई ह्वाइट हाउसबाट निकाल्ने अभियानमा पूर्णविराम लागेको छ ।

राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटले बुधबार उनीमाथि लागेको सत्ता दुरुपयोगको आरोप ५२–४८ भोटले खारेज गरेको थियो भने ५३–४७ भोटले कँग्रेस अवरुद्ध गरेको आरोप पनि खारेज गरेको थियो ।

डेमोक्रेटिक सांसदले आगामी राष्ट्रपति चुनावमा आफ्नो सम्भावित प्रतिद्वन्द्वीलाई बदनाम गर्न युक्रेनमाथि दबाब दिएको ट्रम्पमाथि आरोप लगाएका थिए । यही वर्षको नोभेम्बरमा अमेरिकीमा राष्ट्रपति पदका लागि चुनाव हुँदैछ । महाभियोगको सामना गरेपछि पनि चुनाव लड्न लागेका ट्रम्प राष्ट्रपतिका पहिलो उम्मेदवार हुन् ।

बुधबार भएको ऐतिहासिक मतदानमा सिनेटले राष्ट्रपति ट्रम्पलाई पदबाट नहटाउने निर्णय लिएको छ । उनीमाथि युक्रेनसँगको सम्बन्धमा आफ्नो शक्तिको दुरुपयोग गरेको आरोप थियो । यदी ट्रम्पमाथि लगाइएको कुनै पनि आरोप सिद्ध भएको भए उनले आफ्नो कार्यभार उपराष्ट्रपति माइक पेन्सलाई सुम्पेर राजीनामा दिनुपर्ने थियो ।

डेमोक्रेटिक पार्टीको नेतृत्व भएको हाउस अफ रिप्रेजेन्टेटिभ्स (अमेरिकी काँग्रेसको प्रतिनिधिसभा) ले गत १८ डिसेम्बरमा महाभियोगको मन्जुरी दिएको थियो । दोस्रो पटक राष्ट्रपति पदमा निर्वाचित हुने अभियानमा रहेका ट्रम्पले आफूमाथि लागेको आरोपलाई सुरुवातदेखि नै अस्वीकार गर्दै आइरहेका थिए । उनको चुनावी अभियानको तर्फबाट जारी भएको एक बायनमा भनिएको छ, ‘राष्ट्रपति ट्रम्पले पूर्णरुपमा सफाइ पाएका छन् र अब फेरि उनको अमेरिकी जनताको सेवामा लाग्ने समय हो । डेमोक्रेटिक पार्टीलाई थाहा छ कि उनलाई हराउन सकिँदैन त्यसैले पदबाट हटाउन चाहन्छन् ।’

बयानमा भनिएको छ, ‘यो कठोर परीक्षा’ र ‘बकवास’ मात्र डेमोक्रेटिक पार्टीको एक चुनावी एजेन्डा थियो । महाभियोगको यो नाटक अमेरिकी राजनीतिक इतिहासमा सबैभन्दा खराब नजिर साबित हुनेछ ।’ राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै यसबारे बिहीबार सार्वजनिक बयान दिने जानकारी दिएका छन् । एक रिपोर्टअनुसार यस हप्ता ट्रम्पले अमेरिकी मतदाताको नजरमा सबैभन्दा शानदार रेटिङ हासिल गरेका छन् । उनको स्वीकार्यता दर हिले ४९ प्रतिशत पुगेको छ ।

यूटाका सिनेटर मिट रोमनी रिपब्लिकन पार्टीका एकमात्र सिनेटर रहे जसले पक्ष बदलेर पदको दुरुपायोगको आरोपमा ट्रम्पविरुद्ध मतदान गरे । सन् २०१२ मा रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार रहेका रोमनीले त्योभन्दा पहिलो सिनेटमा राष्ट्रपति ट्रम्पले जनताको विश्वासको दुरुपयोग गरेकोमा दोषी रहेको बताएका थिए ।

रिपब्लिकन पार्टीका दुई उदारवादी नेता मानिएका सिनेटर सुजेन कोलिन्स र अलास्काका मुरकोव्स्कीले ट्रम्पको विपक्षमा मतदान गर्ने डेमोक्रेटिक सिनेटरहरुले आशा गरेका थिए । तर, त्यस्तो भएन । केही रिपब्लिकन सिनेटरहरुले हालै मात्र राष्ट्रपति ट्रम्पको व्यवहारको विरोध गरेका थिए । तर, उनीहरुले पदलाई हटाउनुपर्ने गल्ती ट्रम्पले नगरेको बताए ।

ट्रम्पलाई पदबाट हटाउनका लागि सिनेटमा दुई तिहाई मत विपक्षमा हुन आवश्यक हुन्छ । जुन सुरुवातबाटै असम्भव देखिएको थियो ।