काठमाडौं । सभामुख देवराज घिमिरे सदनमा उठेको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकका क्रममा सभामुख देवराज घिमिरेले यसअघिको बैठकमा पनि ध्यानाकर्षण गराएको भन्दै रुलिङ गरेका हुन् । फागुन २१ गते बस्ने बैठकमा उपस्थित भइ उठेका प्रश्नको जवाफ दिन उनले सरकारलाई रुलिङ गरेका हुन् ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले समसामयिक विषयमा सरकारको जवाफ माग गरेपछि सभामुख घिमिरेले सो निर्देशन दिएका हुन् । बैठकमा सांसद सूर्यबहादुर थापा क्षेत्री र राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित, लघुवित्त पीडित, दुग्ध किसानका समस्या समाधानका लागि सरकारले पहल नगरेको भन्दै सदन र सरकारको ध्यानाकर्षण गराएका थिए ।
यसअघि पनि सांसदहरुले बालकुमारी घटना, भ्रष्टाचारका आरोप लागेका मन्त्री हटाउनुपर्नेलगायत विषयमा स्पष्ट जवाफ दिनुपर्ने माग राख्दै आएका थिए । सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिन सभामुखले रुलिङ गर्दै आएका थिए ।