काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष फरार भएका छन् । उक्त गाउँपालिकाका अध्यक्ष विरबल तामाङ लाखौं रकम ठगी गरेर फरार भएका हुन् । सापटी चाहिएको भन्दै तामाङले एक वर्षअघि लमजुङका दलबहादुर आलेबाट ७५ लाख रकम लिएर ठगी गरका छन् । केही समयका लागि सापटी भन्दै लिएको रकम फिर्ता माग्दा पैसा नै नभएको चेक काटेर भिराएको आलेको आरोप छ । ४ वर्षदेखि भएको चिनजानकै आधार आफूले त्यति ठूलो रकम दिएको उनको भनाई छ ।
आलेले जाहेरीमा भनेका छन्,“वीरबल तामाङसँग मेरो ४ वर्षअघि चिनजान भएको हो । मैले जग्गा बेचेको थाहा पाएपछि प्रतिवादीले २०७९ मा केही समयका लागि रकम आवश्यक परेको भन्दै ७५ लाख सापटी मागे । मैले पनि विश्वास गरेर दिए । पछि रकम माग्दा नगद दिन नसक्ने भन्दै खातामा रकम नै नभएको चेक काटिदिए ।”
तामाङले नगद दिन नसक्ने र आफ्नो खाताबाट पैसा लिनु भन्दै चेक काटेर दिए । तर उक्त खातामा पर्याप्त पैसा नै नभएपछि आलेले उक्त चेक बाउन्स गरि फिर्ता गरेका थिए । तामाङ ७५ लाखको चेक काटिदिए पनि उक्त खातामा पर्याप्त रकम नै नभएको जाहेरीमा उल्लेख गरेका छन् ।
चेक बाउन्स भएपछि आलेले आफ्नो रकम माग गर्दै पटक पटक रकम माग गरे तर उनी पन्छिदै आएको उनी बताउछन् । उनी सम्पर्कविही भएपछि आलेले बैंकिङ कसुरमा जिल्ला प्रहरी परिसर टेकुमा ०७९ चैत २६ मा मुद्दा दर्ता गरेका थिए । अहिले अदातलबाट पक्राउ पुर्जी जारी भइसकेको छ । यद्यपी उनी पक्राउ भने पर्न सकेका छैनन् ।
पालिकाको अध्यक्ष जस्तो जिम्मेवार बसेका तामाङमाथि अहिले बैंकिङ कसुरको आरोप लागेपछि अहिले सम्पर्कविहीन भएका छन् । तामाङ गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट पालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
हामीले यो विषयमा अध्यक्ष तामाङसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।