रातु नदीमा अवैध उत्खननः तत्काल रोक्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

दियो पोस्ट  

काठमाडौं । महोत्तरीको रातु नदीमा भएको अवैध उत्खननले वातावरणमा प्रतिकूल असर परेको भन्दै सर्वोच्च अदालतले तत्काल उत्खनन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले रातुमा अवैध उत्खनन भएको ठहर गर्दै आइतबार तत्काल उत्खनन रोक्न र चैत १९ गतेभित्र अदालतमा हाजिर हुन रिटका विपक्षीलाई आदेश दिएको छ । वातावरणमा प्रतिकुल असर पार्ने गरी रातुमा अवैध उत्खनन भएको भन्दै रोक्न सर्वोच्चमा फागुन १७ गते मुद्दा दायर भएको थियो । बर्दिवास नगरपालिकाले लगाएको ठेक्काबाट नदी नियमसंगत नखनिएको, नगर कार्यपालिकाबाट पास गरेको वातावरणीय प्रभाव मूल्यांकन वातावरणीय प्रतिकूल नभएको, मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन गरेको, स्थानीय सरकारले नै अवैध दोहनमा पक्षपोषण गरेको, निकासी नियमसंगत नभएकाले राजस्व छलि भएको जस्ता समस्या देखिएपछि उत्खनन रोक्न माग गर्दै विभिन्न राजनीतिक दलका प्रतिनिधिले संयुक्त रुपमा मुद्दा दायर गरेका थिए ।

रिटमाथि अधिवक्ताहरु पदमबहादु्र श्रेष्ठ, राजु फुयाँल, सुधनराज आचार्य, विष्णु कोमार ठोकर र सुदीपकुमार भुजेलले गरेको बहसपछि अदालतले यस्तो आदेश जारी गरेको हो ।