काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले सत्ता स्वार्थका लागि हुने सरकार परिवर्तन र कुर्सीका खेलप्रति नेपाली जनताको चासो नहुने बताएको छ।
पार्टीका केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले विज्ञप्ति निकालेर भनेका छन्, ‘सत्ता स्वार्थका लागि हुने सरकार परिवर्तनलाई हाम्रो पार्टीले सकारात्मक रूपमा लिन सक्दैन। यस प्रकारको कुर्सीको खेलप्रति नेपाली जनताको रूची र चासो पनि छैन।’
गत सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग सहकार्य तोड्दै नयाँ समीकरण बनाएका थिए। उक्त समीकरणमा रहेका दलबाट २० सदस्यीय मन्त्रिपरिषद गठनसमेत भइसकेको छ।
सरकार परिवर्तन भएको विषयमा समाजवादी पार्टीले विज्ञप्ति निकालेर आफ्नो धारणा सार्वजनिक गरेको हो।
अध्यक्ष भट्टराईले चैत ४ गे केन्द्रीय कार्यकारिणी समिति र चैत ५ गते केन्द्रीय समिति बैठक गरेर समसामयिक राजनीति, पार्टीको आगामी कार्यदिशा लगायतका विषयमा आवश्यक निर्णय लिइने पनि बताएका छन्।
