राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता

राष्ट्रिय सभा

दियो पोस्ट डेस्क  

काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् ।

सङ्घीय संसद् भवन नयाँबानेश्वरमा जारी निर्वाचन प्रक्रियाअन्तर्गत सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहाल र विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सांसद युवराज शर्माले उम्मेदवारी दर्ता गराएका हुन् ।

सत्तापक्षका उम्मेदवार दाहालको प्रस्तावकमा माओवादी केन्द्रका सांसद गोपीप्रसाद सार्की आछामी र समर्थकमा एमालेका देवेन्द्र दाहाल, नेकपा एकीकृत समाजवादीका बेदुराम भुसाल र जनता समाजवादीका मोहम्मद खालिद रहेका छन् ।

मंगलबार हुने निर्वाचनका लागि आज साेमबार  बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मको समय छुट्याइएको छ । सोमबार दिउँसो नै साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुनेछ।

यसैगरी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना तथा समर्थकमा किरणबाबु श्रेष्ठ र लोसपाका शेखरकुमार सिंह रहेका छन् ।

सत्ता गठबन्धनमा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्ष पाउने समझदारी भएको थियो। गत सोमबार उनीहरूले आठ बुँदे समझदारी गरेका थिए।

तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल यही फागुन २० गते सकिएको थियो ।