काठमाडौं । रुसी सेनामा भर्ती भएका चार नेपाली युवाहरुले भारत सरकारसँग सहयोगको माग गरेका छन् । आइतबार भारतिय मिडिया दी वायरसँग एक भिडियो क्लिप शेयर गर्दै उनीहरुले त्यहाँबाट उद्धार गरिदिन भारत सरकारसँग माग गरेका हुन् । भिडियोमा देखिएका चार युवाहरुले आफ्नो परिचयसमेत खुलाएका छन् ।
जसमा सञ्जय, राम, सन्तोष र कुमार श्रेष्ठ रहेका छन् । आफुहरुलाई एजेन्टले झुक्काएर रुसी सेनामा भर्ती गराएको ति युवाहरुले बताएका छन् । आफुसँगै काम गरिरहेका तिन भारतिय युवालाई भारत सरकारले स्वदेश फिर्ता बोलाइसकेको तर आफुहरुलाई भने सरकारले हालसम्म उद्धार प्रयास समेत नगरेको एक युवाले भिडियोमार्फत बताएका छन् ।
‘हामीलाई हेल्परको काममा लगाइने भन्दै एजेन्टले ठग्यो । यहाँ पुगेर युद्धमा होमिनु पर्यो’ भिडियोमार्फत सञ्जयले भनेका छन्, ‘हामीसँग भएका अन्य तिनजना भारतका साथीहरुलाई उनीहरुको सरकारले फिर्ता बोलाइसक्यो । तर हामीलाई भने नेपाल सरकार र दुतावासले अहिलेसम्म कुनैपनि सहयोग गरेन । आशा छ छिमेकी मुलुक भारतले हामीलाई मद्धत गरिदिने छ । हामीलाई निराश पार्ने छैन ।’
उनीहरुले ३० जना नेपाली त्यहाँ पुगेको र हाल पाँच जना मात्र बाँकी रहेकोले आफुहरु चिन्तित भएको बताएका छन् । नेपाल सरकारलाई उद्धृत गर्दै दी वायरले लेखेका छ, ‘४ सय बढि नेपाली युवा रुस पुगेर रुसी सेनामा भर्ती भएका छन् । राम्रो तलब सुविधा पाउने आशामा रुस पुगेका नेपालीहरु इुद्धमा होमिनुपरेको छ ।’ परराष्ट्र मन्त्रालयकाअनुसार रुस र युक्रेन युद्धमा हालसम्म १२ नेपाली नागरिकले ज्यान गुमाइसकेका छन् भने १ सय भन्दा बढि बेपत्ता र घाइते अवस्थामा छन् ।
दी वायरबाट