कमलामाई नगरपालिकाको निर्देशन : सरकारी कर्मचारीले आफ्ना बालबालिका सामुदायिक विद्यालयमै पढाउनु

सिन्धुली

- ईश्वर विश्वकर्मा  

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाले सरकारी कर्मचारीलाई आफ्ना बालबालिका सामुदायिक विद्यालयमै पढाउन निर्देशन दिएको छ । नगरपालिकाले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारी सेवा सुविधा उपभोग गर्ने शिक्षक तथा कर्मचारीलाई आफ्ना नानीबाबुलाई सामुदायिक विद्यालयमै पढाउन भन्दै निर्देशन दिएको हो ।

नगरपालिकाको गत फाल्गुण १६ गते बसेको कार्यपालिका बैठकले यो निर्णय गरेको हो । उक्त निर्णयमा निर्वाचित जनप्रतिनिधि तथा सरकारी सेवा सुविधा उपभोग गर्ने कर्मचारीहरुले आगामी शैक्षिक सत्र २०८१ देखि अनिवार्य रुपमा आफ्ना बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्ने उल्लेख गरिएको छ ।

योसहित आगामी दिनमा चारबटा सामुदायिक विद्यालयलाई आवास सहितको व्यवस्था गर्ने निर्णयसमेत भएको कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य प्रसाद दाहालले दियोपोस्टलाई जानकारी दिए ।

दाहालले भने, “अबको शैक्षिक सत्रबाट जस जसले सरकारी सेवा सुविधा उपभोग गर्दै आएका छौं । उनीहरुले सबैले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउनु पर्ने छ । उदाहरणका लागि बोडिङ्गमा मेरा बाबु ५ कक्षामा पढ्छ भनेपनि मैले अबको शैक्षिक सत्रमा ६ कक्षामा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने हुन्छ ।”

कमलामाई नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि उक्त निर्णय गरेको दाहालको भनाई छ । “केन्द्र सरकारले पनि कानून बनाएको छ तर कार्यान्वयनमा समस्या देखिन्छ, उनले भने, “हाम्रोमा चाही जनप्रतिनिधिकै निर्णय भएकोले समस्या नआउला ।”
यता केही शिक्षक तथा शिक्षिकाहरुले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा अध्यापन नगराई निजी विद्यालयहरुमा अध्यापन गराउदै आएका छन् ।

दियोपोस्टसँग कुरागर्दै नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले सरकारी कर्मचारी तथा जनप्रतिनिधि नै सरकारले अथवा पालिकाले बनाएको कानून नमाने नगरापालिकाबाट पाउने कुनै पनि सेवासुविधाहरु रोक्का गरिने छ ।

“हामीलाई नेपाल सरकारले शैक्षिक सुधारका लागि ७७ करोड विनियोजन गरेको छ । ६१ करोड कमलामाईले शिक्षामा लगानी गरेको छ । यत्रो रकम लगानी गरेरपनि हामीले शिक्षामा सुधार गर्न सकेनौ भने, कस्तो बेलामा सक्छौ, पोखरेलले भने,

“हामीले जसरीपनि यो कार्यान्वयन गरेरै छाड्ने हो । शिक्षामा सुधार गर्नु छ । शिक्षा सुधारका लागि केही निरंकुश बन्नै पर्ने भएको छ । जसले जे भनेपनि शिक्षामा सुधार गरेरै देखाउने हेतुले लागि परेको छु । सामुदायिक विद्यालयमा बालबालिका पढाउने विषयमा छलफल गर्दा भएन भने कारवाहीनै गर्नुपर्ने पनि हुन्छ ।”
सिन्धुलीको कमलामाई नगरपालिकामा २८ वटा सामुदायिक विद्यालयहरु छन् ।

सिफारिस