काठमाडौं । करिब ६ वर्ष अघि बुटवलका शैलेन्द्र बुढाथोकी रोजगारीको शिलशिलामा मकाउ पुगे । मकाउमा उनको भेट स्याङ्जाका सन्तोष कुमार बिकसंग भयो । परिचयका क्रममा बिक शैलेन्द्रका साँडु नाता पर्नेका ‘भाई’ भन्ने थाहा लाग्यो । बिदेशमा एक नेपालीले अर्को नेपालीलाई भेट्दा आफ्नोपनको अनुभव गर्नु स्वाभाबिकै हो । शैलेन्द्रले पनि उनलाई भेटेपछि आफ्नो पनको महसुस गरे । त्यसमाथि आफ्नै नाता भित्रको मान्छे भेट्दा सुखी नहुने कुरै भएन । त्यसदिन सन्तोषलाई भेटेर शैलेन्द्र खुसी भए । तत्पश्चात सन्तोष शैलेन्द्रसंग नजिकिए ।
फरक–फरक कम्पनीमा काम गर्ने भएता पनि बेलाबेलामा दुबैजना बीच फोन मार्फत कुराकानी हुने गथ्र्यो । एकदिन बिकले शैलेन्द्रलाई फोनमार्फत मकाउमै रहेको ‘ग्यालेक्सी होटल तथा क्यासिनो’मा कामदारको माग भएको जानकारी गराए । उनले क्लिनरको लागि कामदार माग भएको र मासिक १ लाख पारिश्रमिकका साथै ‘खाना, बस्न निःशूल्क हुने भएकाले नेपालस्थित कोही आफ्ना मान्छे भए बोलाउनु’ भन्दै कल गरेका थिए । बिकले उक्त काम राम्रो भएका कारण आफ्नै मान्छेहरुलाई बोलाउन समेत शैलेन्द्रलाई सुझाए । सन्तोषको कुरा सुनेपछि शैलेन्द्रले आफ्नै दाईलाई उक्त होटलमा कामका लागि बोलाउने बिचार गरे । शैलेन्द्रका आफ्नै जेठा दाई जितेन्द्र नेपालमा बेरोजगार थिए । बैदेशिक रोजगारीको अवसर पाए बिदेश जाने जितेन्द्रको पनि सोँच थियो । शैलेन्द्रले मकाउको कामका बारेमा जानकारी गराए पछि जितेन्द्र हौसिए ।
जितेन्द्रसंगै शैलेन्द्रका काकाका छोरा नाता पर्ने दिपक वि.क र राजेन्द्र वि.कले पनि उक्त कामको बारेमा थाहा पाएर मकाउ जाने इच्छा ब्यक्त गरे । त्यसपछि शैलेन्द्रले तिनै जनालाइ आवश्यक कागजातहरु पठाउन आग्रह गरे । केही दिनमै तिनै जनाले इमेल मार्फत शैलेन्द्रलाई कागजात पठाए । शैलेन्द्रले ति कागजात सन्तोषलाई दिए । कागजात पाएपछि सन्तोषले बाँकेको कोहलपुर घर बताउने दैलेखका उदय खड्का नाम गरेका व्यक्तिलाई भेटाए । नेपालबाट कामदार मगाउने काम उदयले नै गर्ने भन्दै शैलेन्द्रका दाजुहरुले पठाएको कागजात पनि उसैलाई दिएको सन्तोषले जानकारी दिए ।
सन्तोषमार्फत चिनेका उदय खड्काले काम प्रक्रियामा गइसकेको भन्दै शैलेन्द्रसंग प्रतिव्यक्ति २ लाख रुपैँया अग्रिम माग गरे । उदयले उक्त रकम मागेपछि शैलेन्द्रले आफ्ना दाईहरुलाई पैसा पठाउन आग्रह गरे । तिनै जनाले उदयले भनेकै खातामा आइ.एम.ई.मार्फत रकम जम्मा गरिदिए । शैलेन्द्रका अनुसार ३ जनाको २ लाखका दरले ६ लाख उदय र सान्तोषलाई बुझाईयो । उदय र सन्तोषले सबै काम प्रक्रियामै रहेको र केही समयकै काम हुने भन्दै ढुक्क हुन सम्झाउँथे ।

केही समयपछि शैलेन्द्र घर बिदामा नेपाल आए । नेपाल आएको एक महिना पछि उदयले शैलेन्द्रलाई कल गरेर केही दिनमै काम सम्पन्न हुने भएकाले पूनः रकम पठाउन भने । त्यो दिनको सम्झना गर्दै शैलेन्द्र भन्छन्,–“म घर आएको एक महिना मात्र भएको थियो । उनीहरुले कल गरेर होटलबाट ‘जब लेटर आयो’ भन्दै फेरि ३/३ लाख रुपैँया पैसा पठाउन भने । हामीसंग उनीहरुले भनेजति पैसा थिएन । त्यसपछि २ जनाले २/२ लाख र एकजनाले साढे २ लाख गरि जम्मा साढे ६ लाख रुपैयाँ उनीहरुले भनेकै मान्छेको नाममा पैसा जम्मा गरिदियौँ । त्यो पटक मेरो दाइसंग पैसा नभएका कारण मैले २ लाख रुपैयाँ हालिदिएँ ।”
पैसा पठाए पछि काम हुनेमा आफु ढुक्क रहेको उनी बताउँछन् । बेला–बेलामा सम्पर्क भइरहेका कारण पनि उनीहरु प्रति शैलन्द्रको बिश्वास बढेको थियो । यत्तिकैमा कोरोना (कोभिड–१९)ले महामारीको रुप लियो । कोरोना नियन्त्रणका लागि भन्दै सरकारले देशब्यापी लकडाउन सुरु गर्यो ।
यद्यपी, कोरोनाका कारण विश्वकै अवस्था भयावह बनेको थियो । निरन्तर लकडाउन र कोरोना महामारीका कारण शैलेन्द्र पूनः मकाउ जान पाएनन् । आफु मकाउ फर्किन नपाए पनि दाजुहरुको काम हुनेमा भने उनी ढुक्क थिए । दुईपटक गरि उनीहरुको खातामा साढे १२ लाख रकम जम्मा भइसकेको थियो । समय बित्दै गयो । उता काम हुने छाँटकाँट देखिएन । कल गरेर बुझ्न खोज्दा काम चाँडै हुने आश्वासन मात्रै दिने गरेको शैलेन्द्र बताउँछन् । भन्छन्,–‘कल गर्दा काम केही दिनमै हुन्छ भन्थे । यसैगरि ३ महिनासम्म झुलाए । तीन महिनापछि त मलाई फेसबुकमा ब्लक गरिदिएछन् । मेरो कल पनि नलाग्ने बनाइदिएछन् ।” कोभिड १९ र लकडाउनका कारण मकाउ फिर्ता जान नपाएकोले उनीहरुलाई ठग्न झन् सजिलो भएको उनको भनाई छ । यद्यपी, २ वर्षयता बिक र खड्का दुबैजना सम्पर्कबिहिन छन् । खड्काले आफुले चलाउँदै आएको फेसबुक समेत लक गरेको शैलेन्द्र बताउँछन् ।
आफ्ना दाजुहरुलाई बैदेशिक रोजगारीमा पठाएर आर्थिक रुपमा परिवारलाई ब्यवस्थित बनाउने सपना देखेका शैलेन्द्रलाई बिक र खड्काको उक्त कार्यले निकै दुखी बनायो । यता, उनका दाजुहरुले पनि उनलाई पैसा फिर्ता गर्न भन्दै निरन्तर दवाव दिइरहे । उनी भन्छन्,–‘दाइहरुले “हामी अरुलाइ जान्दैनौँ, हाम्रो पैसा फिर्ता चाहियो” भनेर दैनिक दबाब दिन थाले । गाली–गलौज र टर्चर त कति हो कति । दिनहुँको टर्चरले मानशिक रुपमै तनाव भोग्नु पर्यो । यही कारणले पारिवारिक सम्वन्ध नै बिग्रिने सम्मको स्थिति बन्यो । पारिवारिक सम्वन्ध नबिग्रियोस भनेर मैले ऋण खोजेर दाजुहरुलाई पैसा फिर्ता गरेँ । दाजु–भाइलाई सपोर्ट गर्दा म उल्टै पीडित बनेँ ।”

बिक र खड्काले सम्पर्कका सबै माध्यम बन्द गरेको उनी बताउँछन् । मकाउमा रहेका उनका केही साथी मार्फत सम्पर्क गर्ने प्रयास गरे पनि उनीहरु सम्पर्कमा नआएको उनको भनाई छ । ‘साथीहरु मार्फत बुझ्दा र उनीहरु मार्फत पैसा फिर्ता माग्दा पैसा फिर्ता गरिदिन्छौँ भनेको सुन्छु, तर अहिलेसम्म न त पैसा फिर्ता गरेका छन्, न सम्पर्कमा आउँछन् । उनीहरुका कारण म एकदमै पीडित बनेको छु ।’ शैलेन्द्रले दुखेसो पोख्छन् । दाजुहरुका लागि आफु समेत ठगिएको भन्दै उनले रकम ठगनेलाई कानुनी कारबाही हुनु पर्ने माग गर्छन् । यतिबेला शैलेन्द्र पैसा पठाएको प्रमाण सहितका कागजात हातमा बोकेर न्यायका लागि भौतारिएका छन् । आफुले न्याय नपाए अदालतको ढोकासम्म पुग्ने उनी बताउँछन् । उनका अनुसार उदय र सन्तोष २ वर्षदेखि सम्पर्क बिहिन छन् ।
बैदेशिक रोजगारीको नाममा बिशेदमै नेपालीहरु आफ्नै भनिनेहरुबाट ठगिन्छन् भन्ने ज्वलन्त उदाहरण हो यो । यस्ता खालका घटनामा शैलेन्द्र त प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्ता हजारौँ नेपालीहरुहरु बैदेशिक रोजगारीका नाममा ठगिने गरेको प्रमाण बैदेशिक रोजगार बिभागसंग छ । नक्कली भिसा, भनेको काममा नपठाउने, पैसा लिएर दलाल भाग्ने गरेका कारण कैयौँ नेपालीहरु अलपत्र पर्ने गरेका थुप्रै उदाहरणहरु छन् ।
बिभगका निर्देशक तथा सुचना अधिकारी कृष्ण प्रसाद भुसाल भन्छन्, ‘विदेश जान पाउने भए पछि हामी जो कोहीलाई आँखा चिम्लेर बिश्वास गर्छौँ । कस्तो कम्पनी हो, के कामका लागि जाने हो, कति लागत लाग्ने हो भन्ने केही थाहा नपाई फोनका आधारमै बिदेश जान खोज्नेहरु धेरै छन् । त्यसकारण अहिले बिभागमा धेरै ठगीका उजुरीहरू आउने गरेका छन् ।’ धेरै जसो पढे लेखेका व्यक्तिहरू ठगीमा परेका उजुरी लिएर बिभागमा आउने गरेको उनको भनाई छ ।