तीन सय ५० उम्मेदवारको शून्य मत, पाँच सय १६ जना जमानत जोगाउन सफल

दियोपोस्ट संवाददाता  

काठमाडौं । हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ३५० जना उम्मेदवारले एक मत पनि प्राप्त गर्न नसकेको तथ्य सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार जमानत जफत भएका उम्मेदवारमध्ये ३ सय ५० जनाले शून्य मत पाएका हुन्।

आयोगका अनुसार प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ठूलो संख्यामा उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए। तीमध्ये धेरै उम्मेदवारले अत्यन्त न्यून मत प्राप्त गरेका छन् भने केहीले एक मतसमेत प्राप्त गर्न सकेनन्।

शून्य मत प्राप्त गर्ने उम्मेदवारहरू साना राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार रहेको आयोगले जनाएको छ। प्रमुख दलका उम्मेदवार भने शून्य मतको सूचीमा परेका छैनन्।

उम्मेदवार आफैंले समेत मतदान नगरेका कारण मत परिणाम शुन्य देखिएको हो । यसैबीच आयोगका अनुसार जमानत जोगाउन सफल ५ सय १६ जना उम्मेदवारले आफ्नो धरौटी रकम फिर्ता पाउन निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ९० दिनभित्र आयोगमा निवेदन दिनुपर्नेछ। रीतपूर्वक निवेदन दिएपछि कानुनबमोजिम धरौटी रकम फिर्ता गरिने आयोगले जनाएको छ।

प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ हजारौँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए। धेरै उम्मेदवार प्रतिस्पर्धामा हुँदा ठूलो संख्यामा उम्मेदवारको जमानत जफत भएको आयोगले जनाएको छ।