काठमाडौं । ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवस-२०२६ को अवसरमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडले समाजमा उल्लेखनीय योगदान पुर्याएका महिलाहरूलाई विशेष सम्मान गरेको छ। पाटन संग्रहालयमा आयोजित कार्यक्रममा संस्थापक अध्यक्ष लायन राजिव श्रेष्ठको सभापतित्वमा ११ जना विशिष्ट महिलासहित कुल १११ जना महिलालाई सम्मान गरिएको हो।
कार्यक्रममा सामाजिक क्षेत्रमा सक्रिय १०० जना स्वयंसेवक महिला, महिला निर्वाचन प्रहरी तथा नेपाल प्रहरीका महिला सदस्यहरूलाई पनि सम्मान प्रदान गरिएको थियो।
विशेष सम्मान प्राप्त गर्नेहरूमा पूर्व कुमारी चनिरा बज्राचार्य, सञ्चारकर्मी माल्भिका सुब्बा, जेन्जी मुभमेन्टकी नेतृत्वकर्ता सरिष्मा थापा, जुनु थापा मगर, नेपाल भलिबल संघकी केन्द्रीय सदस्य सजना जिरेल, नेपाल आइडलकी गङ्गा सोनाम, रेवती गुरुङ, शिवना श्रेष्ठ, डा। मनु कार्की, स्नेहा श्रेष्ठ तथा अन्तर्राष्ट्रिय कराते रेफ्री करुणा रावत क्षेत्री लगायत रहेका छन्।
प्रमुख अतिथि भवानी राणाको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा विगतका वर्षहरूमा जस्तै महिला बाइक र्याली आयोजना गर्ने योजना भए पनि यस वर्ष प्रतिनिधिसभा निर्वाचन तथा सुरक्षा कारणले सो कार्यक्रम गर्न नसकिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।
कार्यक्रमका क्रममा संस्थाको ब्रान्ड एम्बेसडर लायन युवा मगरले आगामी अगस्ट महिनामा “मिस लायन पेजेन्ट” आयोजना गरिने जानकारी दिँदै प्रतियोगितामा सहभागिताका लागि आवेदन खुला गरिएको घोषणा गरे।
विशेष अतिथि पूर्व कुमारी चनिरा बज्राचार्यले कुमारीका रूपमा बिताएको जीवन र हालको साधारण जीवनका अनुभवहरू सहभागीहरूसँग साझा गरिन्। त्यस्तै सञ्चारकर्मी माल्भिका सुब्बाले पनि आफ्नो संघर्षपूर्ण जीवनयात्रा सुनाउँदै उपस्थित महिलाहरूलाई अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना व्यक्त गरिन्।
कार्यक्रममा संस्थाका सल्लाहकार तथा पूर्व डिस्ट्रिक्ट गर्भनर लायन निरा बज्राचार्यले लायन युषा मगर, लायन अम्रिता लामा र संस्थाकी पहिलो महिला सदस्य लायन सुशिला श्रेष्ठलाई विशेष पिन प्रदान गर्दै सम्मान गरेकी थिइन्। उनले संस्थाको आगामी यात्राका लागि शुभकामना पनि व्यक्त गरिन्।
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालका क्याबिनेट सेक्रेटरी लायन त्रिजा ढकालले कवितामार्फत शुभकामना व्यक्त गर्दै संस्थाका कार्यक्रमहरूमा डिस्ट्रिक्टको निरन्तर सहयोग रहने बताइन्। त्यसैगरी लियो अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालका डिस्ट्रिक्ट प्रेसिडेन्ट लियो प्रतिभा श्रेष्ठले महिला दिवसको महत्वबारे आफ्ना अनुभव साझा गरिन्।
कार्यक्रममा गायक गङ्गा सोनामको सांगीतिक प्रस्तुति तथा ‘सर्वनाम’ नाटकघरको विशेष नाटक प्रस्तुति पनि गरिएको थियो। साथै अन्तर्राष्ट्रिय कराते खेलाडी बबिता कार्की र पूजा खड्कालाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।
लायन्स क्लब अफ काठमाडौं ब्लडहुडकी उपाध्यक्ष लायन अम्रिता लामाले विगतमा संस्थाले रक्तदान कार्यक्रमलाई प्राथमिकता दिएको र हाल रक्तदातालाई उत्प्रेरित गर्ने गतिविधि सञ्चालन गरिरहेको जानकारी दिइन्। उनले आगामी दिनमा पनि रक्तदान अभियानमा विभिन्न संस्थासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा लायन्सका अग्रज त्रिजा ढकाल, सुधा थापा, सैलेन्द्र दाहाल, लक्ष्मी थापा, लायन्स क्लब अफ काठमाडौं ग्रिन टाउनका धु्रवप्रसाद घिमिरे, जे।बी। अधिकारी, लायन्स क्लब अफ काठमाडौं सेक्रेड भ्यालीका संस्थापक अध्यक्ष मचाकाजी महर्जन तथा लियो क्लब अफ काठमाडौं ब्लडहुडकी संस्थापक अध्यक्ष हिना सिंहलगायतको उपस्थिति रहेको थियो।
यसै अवसरमा पाटनको मंगलबजारमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुड र ग्रिनटाउनको सहकार्यमा रक्तदान तथा आँखा जाँच शिविर पनि आयोजना गरिएको थियो। उक्त रक्तदान कार्यक्रममा एक महिला र छ पुरुष गरी सात जनाले रक्तदान गरेका थिए भने विभिन्न संघसंस्था र स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।